काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन नदिन बाहिर निकै तयारी भएकैले कांग्रेससँगको गठबन्धन टुटेको ब्रिफिङ पार्टी बैठकमा गरेका छन् ।
पार्टी स्थायी समिति बैठकमा बोल्दै प्रचण्डले कांग्रेससहितको गठबन्धन टुट्नुका कारणहरु स्पष्ट खुलाएका हुन् ।
प्रचण्डले बैठकमा भने, ‘हाम्रो नेतृत्वमा सरकार बन्न नदिन बाहिर पूरै तयारी भएको रहेछ। त्यही वातावरण बनाएपछि कांग्रेस ढुक्क भएको रहेछ, नयाँ जनादेशपछि कांग्रेसले प्रधानमन्त्रीको दाबी नछोड्नुको कारण त्यही हो।’
पुस २ गते बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग गरेको समझदारीअनुसार काम नगरी बाहिरी तत्वको कुरा सुन्दा गठबन्धन छाड्नुपरेको प्रचण्डले बैठकमा बताएका छन्।
आफूसँगको समझदारी भुलेर कांग्रेसले धोका दिएको गुनासो प्रचण्डले गरेको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले बताए।
‘कांग्रेसले ठूलो धोका दिएको हो । हामीसँग एउटा समझदारी गर्ने अनि माओवादीलाई सत्ताबाहिर राख्ने अन्तको डिजाइनमा साथ दिन तयार भएर बसेको रहेछु’ प्रचण्डले बैठकमा भने, ‘गठबन्धनका पार्टनरहरुले पनि सहयोग गरेको देखिएन। संख्याभन्दा बढी भाग माग्ने गरेर समस्यामा पारे।’
कांग्रेसले रोक्न खोजे पनि नेकपा एमाले लगायतका दलहरुको सहयोगमा माओवादीकै नेतृत्वमा सरकार गठन भएकोले यसलाई जोगाउनुपर्ने दायित्व आफ्नो भएको प्रचण्डले बताए।
‘तपाईंहरुले देख्नु भएकै छ, अहिले नयाँ गठबन्धन कसरी अघि बढेको छ,’ प्रचण्डले थपे।
उनले अब कांग्रेससहित सबै दलबीच एउटा सहमति बनाउन लाग्नुपर्ने बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्