काठमाडौं १७ कात्तिक । राजनीतिक दलहरु भातृ संगठन विस्तारमा निकै अघि छन । सबैजसो राजनीतिक दलले आफना भातृ संगठन बनाएका छन । युवाहरुलाई लक्षित गरेर खेलकुदका संगठन पनि बनाएका छन । तर संगठन बनाई पार्टी बलियो बनाउने ध्येय बोकेका राजनीतिक दलले भने खेलकुदका एजेण्डालाई प्राथमिकतामा राख्नै सकेका छैनन । खेल र खेलाडीको प्रदर्शनबाट देशले विश्वमा परिचय पाउने भएतापनि चुनाव नजिकैको घोषणापत्रमा समावेश भएझैं राजनीतिक दलहरुका खेलकुदका एजेण्डाहरु कार्यान्वयनमा भने आउन सकेका छैनन् ।
खेलकुदमा लगानीभन्दा खेलाडीलाई प्रयोग गरेर चुनाव जित्ने चलन नेपालमा नौलो होइन । पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म आइपुग्दा यो क्रम रोकिएको छैन । विशेषगरी मार्सल आर्टस गेम्स कराँते, तेक्वान्दो, जुडो, बक्सिङलगायत खेलका खेलाडीलाई चुनावमा प्रयोग गर्न दलहरूको होडबाजी चल्छ । दलहरुले सार्वजनिक गरिएका घोषणापत्रमा पनि देशलाई विकासतर्फ डो¥याउने, आर्थिक समुन्नती र सुशासनका नारा सबैले व्यक्त गरेका छन् । खेलकुद पनि अभिन्न पाटो भन्दै खेल क्षेत्रको विकास, खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निमार्ण र खेलाडीको हीतको विषयमा पनि घोषणा पत्रमा बुँदा उल्लेख गरिएको छ । घोषणापत्र बनाउँदैगर्दा सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले क्षेत्रगत प्राथमिकतामा समवेश गरेर कला, संस्कृति र खेलकुद विकासको एजेण्डालाई अगाडि सारेको छ । नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय गरिमा उच्च हुने सिद्धान्तसहित आगामी निर्वाचनमा होमिन लागेको काँग्रेसले खेल पूर्वाधार निमार्ण तथा उचित संवद्र्धन गर्ने प्रतिवद्धता अगाडि सारेको छ । व्यवस्थापकिय संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीहरुको भविष्य सुनिश्चित गर्दै खेल प्रशिक्षक, खेल पदाधिकारी, खेलकमी र खेल पत्रकाररितालाई प्राथमिता राख्ने उल्लेख गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले पनि युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लव भवनमा जोड दिएर खेल क्षेत्रलाई अगाडि बढाउने वाचा घोषणापत्रमार्फत गरेको छ । यस्तै खेलाडीहरुको सम्मान र वृद्धि विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने, सम्भावना बोकेका खेलाडीको खोजि गर्ने र धेरै भन्दा धेरै प्रतियोगितामा खेलाडीलाई समावेश गराई अनुभव बटुल्ने अवसर दिने योजना ल्याएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी माओवादीले खेलकुद क्षेत्रमा संलग्न युवाको जीविकोपार्जनका लागि मापदण्ड बनाई आवश्यक आर्थिक सहयोगको प्रवन्ध मिलाउने र खेलकुद परिषद्को क्षमता विकासमार्फत खेलकुद क्षेत्रको विकास गर्ने योजना घोषणापत्रमार्फत अगाडि सारेको छ । ठोस योजना घोषणापत्रमा उल्लेख गर्न नसकिएको प्रस्टै देखिन्छ ।
सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले स्वस्थ जीवनको आधार नै खेलकुद पूर्वाधार भन्दै खेल संरचनामा जोड दिएको छ । हरेक पालिकामा खेलकुद गतिविधि सहित रंगशाला र खेल मैदान निमार्ण गर्ने विषयमा जोड दिँदै, स्वास्थ्यका लािग खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद भन्ने नारा घोषणापत्रमा उल्लेख गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिका एक खेल मैदानसहितको खेलकुद एजेण्डा अगाडि सारेको छ । घोषणापत्रमार्फत खेलकुद विकास गर्ने योजना बनाएको राप्रपाले प्रदेश र स्थानीय स्तरमा आवश्यकताको आधारमा रंगशाला, कभर्ड हल, खेल मैदान, खुला व्यायामशाला बनाउने एजेण्डा बनाएको छ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गरेका नेपाल समाजवादी पार्टीले खेलकुद क्षेत्रमा लाग्न चाहने युवाहरुलाई प्रोत्साहनमुलक कार्यक्रमहरुको व्यवस्था गर्ने र खेलकुद सम्बन्धी कार्यक्रमहरुको प्रवद्र्धनमा विशेष ध्यान दिने नीति लिने आसन्न निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख गरेको छ ।
नेपाली राजनीतिका शीर्ष दलको परिचय पाएका अलावा अन्य साना दलहरुले पनि खेलकुदका विषय कतै कतै जोडेका छन् । सबैको चासो पूर्वाधार नै रहेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दहरुले आ–आफ्नो घोषणापत्र लिएर जनताको घरदैलोमा पुगिसकेको अवस्थामा खेलकुदमा जीवन बिताएका खेलपदाधिकारीले भने खेल बुझ्ने पदाधिकारी अभिभावक संस्थामा खोजिरहेका छन् । राजनीतिक दलले तयार पारेको आफ्नो घोषणापत्र र कार्यक्रममा खेलकुद क्षेत्रका एजेण्डा कार्यन्वयन भने ओझेलमा परेको छ । दलले जारी गरेको घोषणा पत्रमा देशको मुहार फेर्नेदेखि आर्थिक समृद्धिका चखिला एजेण्डलाई बोक्दै गर्दा खेलकुद क्षेत्रलाई भने उपेक्षा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्