काठमाडौं, १७ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धमा निर्णायक भनिएको बिहीबारको बैठक निष्कर्षबिहीन भयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथ सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँट र चुनाव जित्ने मात्रै नभई त्यसपछिको राजनीतिक स्थीरता र समृद्धिका विषयमा छलफल केन्द्रीत भएको बताए । बालुवाटार बैठक जारी रहँदा नेपाली कांग्रेस संस्थापन इतरका डा. शेखर कोइराला र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलले आशंका पैदा गरेको छ । आगामी निर्वाचनको मिति नजिकिदै गर्दा सत्ता पक्ष र प्रतिपक्षीका मुख्य दलहरुले समेत प्रष्ट मार्ग समात्न सकेका छैनन् । यसै सन्दर्भमा पूर्व परराष्ट्रमन्त्री एवम् राजनीतिक विश्लेष रमेशनाथ पाण्डेसँग धु्रव अधिकारीले गरेको संवादमा आधारित आलेखः
यस विषयमा पूर्वपरराष्ट्रमन्त्री एवम् विश्लेषक रमेशनाथ पाण्डे सैद्धान्तिक विश्लेषण गर्छन् । उनले नेपालका राजनीतिक दलहरुले पहिचान गुमाइसकेका कारण अस्थीरता र संकट उत्पन्न भएको भनाइ राखेका छन् । २०१५ सालको पहिलो संसदीय चुनावतिर फर्कदै उनले भने, “त्यो संसदीय व्यवस्थामा संसदप्रति सरकार व्यवहारिक रुपमा जवाफदेही थियो । मानसिक रुपमा संसदलाई आदरणीय राखेको थियो । त्यो बेला वास्तवमा राजनीतिक दलहरु थिए ।”
गठबन्धन र वर्तमान राजनीतिको सन्दर्भमा उनले अहिले एकभन्दा अर्को दल पृथक हुन नसकेको भनाइ उनले राखे । सिद्धान्त, चरित्र, प्रशिक्षणको आधारमा दलहरु एकबाट अर्को पृथक रहेको तर, बहुलीय राजनीतिक संस्कार मै हुर्किएर नि २०४७ सालमा संसदीय व्यवस्थामा पुर्नस्थापना हुँदा प्रजातान्त्रिक, राजनीतिमा विश्वास गर्ने कांग्रेस र साम्यवादी राजनीतिमा विश्वास गर्ने कम्युनिष्ट, प्रतिपक्षी पनि संसदमा सधैं सँगै भएको देखेको अनुभव उनको छ ।
गठबन्धन हुँदा मतदातामा विकल्प पनि कम
उनले भने, “राजनीतिक पार्टीहरुको संख्या अत्याधिक भएको छ । राजनीतिक दलहरुले पहिचान गुमाइसकेका छन् । चुनाव नै मिलेर गठबन्धनको परिपार्टीले जनता र मतदाताको अगाडि विकल्प नै पाउँदैनन् ।” गठबन्धनले एकथरीलाई जित्न सजिलो भएपनि प्रजातन्त्र पराजित हुने र दलहरु सत्ता प्राप्तिका लागि मिलेर, फुटेर गठबन्धन बनाएको भनाइ उनको छ । उनले दलहरु एक भएर मतदातको सामुन्ने उभेपछि, राजनीतिक दल छान्ने विकल्प नहुने बताएका हुन् ।

उनले नेपालका राजनीतिक दलहरु स्थापना हुँदा गरेका प्रतिबद्धता, पार्टीले बनाएको पहिचान उद्देश्यलाई बाटोमै छोडेर अघि बढ्न खोजेको बताए । “राजनीतिक दलहरुको साइनबोर्ड फरक भएपनि, कुरा एउटै हो । कांग्रेस वा अरु कोही पार्टी जे उद्देश्य राखेर स्थापना भएको थियो, त्यो नचिनिने भइसकेको छ ।”
अब राजनीतिक दलका युवा कायकर्ताले पार्टीको पहिचान खोज्नुपर्ने र यसलाई सुरक्षित बनाउनुपर्ने उनको सुझाव छ ।
देशका राजनीतिक दलहरुले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाच्नका लागि यसअघिको तीन महिना चुनावी तयारीमा तीव्र बनाइने बताउदै आएका थिए । तर दलहरु भने अझै पनि चुनावी रणनीतिको छलफलमै केन्द्रीत देखिएका हुन् ।







प्रतिक्रिया दिनुहोस्