काठमाडौं, १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीसँग एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताएका छन्।
पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका उनले शुक्रबार बिहान आयोजित कार्यक्रममा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको बताए। एकीकृत समाजवादीसँग एकताको प्रक्रिया अघि बढेको उनको भनाइ छ।
‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौँ’, उनले भने,‘घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइराख्या छ । चुनाव चिह्न भने आ–आफ्नै हुनेछ।’ एमालेसँग भने तत्काल एकता नहुने उनले प्रष्ट पारे।
अर्को प्रसंगमा उनले सत्तारुढ गठबन्धनभित्र प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउनेगरी सहमति भएको पनि दाबी गरे। संख्यामात्र नभई प्रदेश र क्षेत्रसमेत एकैपटक टुंगोमा पुर् याउनेगरी अघि बढेको उनको भनाइ छ।
‘हिजो अबेरसम्म बसेर हामी सिट संख्यामा सहमतिको नजिक पुगेका छौँ। एकैपटक प्रदेश र क्षेत्रपनि टुंग्याउनेगरी आज काम हुनेछ’, उनले भने, ‘आजको काम सकिएपछि भोलि बसेर सबै कुरा समग्रमा टुंग्याउने भनेर उठेका छौँ।’








प्रतिक्रिया दिनुहोस्