काठमाडौँ — नेकपा एमालेले चुनावी वामपन्थी गठबन्धनका लागि आह्वान गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान गरेको हो ।
वामपन्थी शक्तिहरु एक भएर गयौ भने देशमा परिवर्तनका लागि सहज हुन्छ । बहुमतको सरकार निर्माण गरेर राजनीतिक स्थायित्वको राष्ट्रिय संकल्प खोजेका छन्,ु पोलिटब्युरो सदस्य विशाल भट्टराईले भने, त्यस्तो समयमा छरपष्ट भएर अघि बढ्नु हुँदैन भनेर आह्वान गरिएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको राग अलापेर मात्रै नहुने बताएका थिए । केही दक्षिणपन्थी शक्तिहरुलाई पार लगाउन उतै टाँसिएका छन् । यदि साँचो वामपन्थी हो भने एकताका लागि आउनुपर्यो, ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, विचार मिल्नेहरु एक ठाउँमा उभिएर चुनावी मोर्चामा जाऔं ।
यसअघि अध्यक्ष ओलीले आफूबाहेक कोही पनि वामपन्थी शक्ति नभएको बताएका थिए । २०७४ चुनावमा पनि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।
बैठकले मंसिरमा हुने संसदीय चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको छ । बैठकले अध्यक्ष ओलीको एकल नेतृत्वमा सरकार गठन गर्ने गरि चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।








प्रतिक्रिया दिनुहोस्