काठमाडौं, २१ जेठ । विचार नमिल्ने शक्तिहरूबीच चुनावी तालमेल र गठबन्धन गर्दा गतिहीनता र अस्तव्यस्तता आएको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । चुनावी समीक्षा कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईले पत्रकार भेटघाटमा विचार नमिल्ने शक्तिबीचको गठबन्धन र चुनावी तालमेलको पुनर्विचार गर्नुपर्ने बताएका हुन् । ‘पटक्कै विचार नमिल्ने र विपरीत दिशामा हिँड्ने शक्तिहरू एक ठाउँमा आउँदा गतिहीनता र अस्तव्यस्तता आएको छ, यो पुनर्विचार गर्नुपर्छ,’ उनले भने ।
गठबन्धन गर्दा वा चुनावी तालमेल गर्दा वैचारिक रुपमा सापेक्ष ढंगले एकरूपता भएका र निकट भएका शक्तिबीच हुँदा दिगो हुने उनले बताए । ‘जुन शक्तिबीच आधारभूत नीति नै मिल्दैन, आर्थिक, देशको लोकतन्त्रको ढाँचासम्बन्धी नीति नमिल्ने शक्तिहरूबीच एक ठाउँमा बस्यो भने क्षणिक चुनावी लाभ हुन्छ, सरकार त बन्छ तर त्यसले काम गर्न सक्दैन, मेरो संकेत त्यहाँ हो,’ उनले भने ।गठबन्धन संविधानले नै आवश्यक बनाएको भट्टराईको भनाइ छ । मिश्रित निर्वाचन प्रणालीमा कुनै दलको प्रस्ट बहुमत नआउने भएकाले गठबन्धन संविधानले नै आवश्यक बनाएको उनले बताए ।
निर्वाचन प्रणाली बदल्नुपर्ने उनले बताए । त्यस्तै भट्टराईले गठबन्धनमा इमान्दारिता नहुँदा गएको स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको बताए । ‘हाम्रै संगठनात्मक कमजोरी पनि हो, पालुङटारमा अस्वस्थ अन्तरसंघर्ष कारणले पनि असर गर्यो,’ उनले भने, ‘मुख्य कुरो गठबन्धनको धर्मअनुसार एकपटक निर्णय भएपछि जसरी पनि कार्यन्वयन गरिनुपर्थ्यो, त्यो चाहिँ भएन, गठबन्धनको लोकतान्त्रिक मूल्य मान्यताविपरीत भयो, सबैको योगफल स्वरुप अपेक्षित परिणाम प्राप्त भएन ।’








प्रतिक्रिया दिनुहोस्