काठमाडौं, २० जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तनको खेलमा एमाले नलागेको बताएका छन्।उनले यतिबेला एमाले सरकार परिवर्तनका खेलमा नलागेको बताएका हुन्।‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणको तयारीमा जुट्दैछौं।’फरक प्रसंगमा महासचिव पोखरेलले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले तालाबन्दी गरेकोमा सरकारको ध्यान नपुगेको उल्लेख गरेका छन्।नेविसंघले असान्दर्भिक माग राखेर त्रिविको पदाधिकारीका कार्यकक्षमा ताला लगाएको आरोप उनको छ।
नेविसंघले गत माघ ७ गतेदेखि लगाएको ताला बुधबार नेकपा (क्रान्तिकारी) ले फुटाएपछि बिहीबार पुन: तालाबन्दी गरेको थियो।यसैबीच नेविसंघले नेपाल संस्कृत विश्वविद्यालय र अनुसन्धान केन्द्रमा पनि तालाबन्दी गरेको छ।
‘असान्दर्भिक माग राखेर सत्तापक्षका विद्यार्थी संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गरेको लामो समय भयो,’ उनले भनेका छन्, ‘सरकार थाह नपाएझैँ चीरनिद्रामा छ। झकझक्याउ।’








प्रतिक्रिया दिनुहोस्