ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकालीमा अझै बनेन झोलुङ्गे पुल, तुइनमा सास्ती, नहुँदा झनै सास्ती


एबीसी / संवाददाता

दार्चुला । दार्चुलाका व्याँसवासी अहिले पनि उर्लंदो महाकाली वारपार गर्न तुइनमा ताङ्लोकै भर पर्नुपरेको छ ।वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा व्याँसीवासीले नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको हो ।नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन गर्ने निर्णय गर्नुभएको थियो । घोषणाअनुसार २०७४ असोजभित्रै तुइन विस्थापन हुनुपर्नेमा दार्चुलाको महाकाली नदीमाथि लगाइएका आधा दर्जन तुइन अहिले पनि सञ्चालनमा छन् । बर्खाको उर्लंदो महाकालीमा स्थानीयवासीले ज्यानकै बाजी थापेर आवतजावत गर्नुपरेको छ ।

यहाँका बासिन्दालाई किनमेल तथा गाउँमा उत्पादित कृषि उपज बिक्रीवितरण मात्रै होइन, औषधि उपचारका लागि अस्पताल जानसमेत तुइनको मात्रै भर छ । पुल नबन्दा सबैभन्दा बढी सकस स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई परेको छ । बालबालिका र ज्येष्ठ नागरिकले तुइन तान्न नसक्ने हुँदा उनीहरूलाई तार्न सहयोगी आउनैपर्ने बाध्यता छ । “तुइनको डोरीलाई तान्ने बल सबैलाई नपुगेर र आत्तिँदा धेरै जना लड्ने गरेका छन्”, व्याँस गाउँपालिका–२ का मुकेश बुढाथोकीले भन्नुभयो, “तुइन बन्छ भनेर सुनेको वर्षौं भएको छ यहाँका नागरिकले । तर पुल बन्ने सपना जस्तै लाग्न थालेको छ, दार्चुलाका व्याँसवासीलाई । ”

उहाँका अनुसार डोरी चँुडियो भने सामान डुब्यो मान्छेको ज्यान पनि गयो । कैयौँ महाकालीमा बेपत्ता पनि भएका छन् । फलामे तार खोलावारिपारि लगाइएको हुन्छ । फलामे तारमाथि रसी अर्थात् स्थानीय भाषामा ताङ्लोको प्रयोग गरिएको हुन्छ । कैयौँले यही तुइनमा अड्क्याएको ताङ्लो चुँडिएर ज्यान गुमाउँछन् ।

यस क्षेत्रमा हरेकको घरघरमा व्यक्तिगत रुपमा ताङ्लो बनाइएको हुन्छ । खलङ्गा आउँदा झोलामा लिएर आउनुपर्छ । आउँदा जाँदा नदीवारपार गर्ने साधन नै ताङ्लो हो । व्यासको दुम्लिङमा नेपाल भारत गर्न दुई वर्षअघिसम्म काठेपुल थियो । तर जब कोरोना कहर शुरु भयो, भारतले काठेपुल भत्काइदियो । त्यसयता यहाँका नागरिकले तुइनकै सहारामा वारपार गर्नुपरेको छ ।

“पटकपटक नेताका आश्वासन आए, पञ्चायती बहुदल हुँदै गणतन्त्रमा देश पुग्यो, नेताका भाषण परिवर्तन भएका छैनन्, पुल बनाउँछौँ भनेकै छन् तर पुल कहिले बन्ने हो थाहा छैन”, स्थानीयवासी कल्यानसिंह धामीले भन्नुभयो । उहाँले घरमा चाहिने नून, चामल, साबुन तेलदेखि घर निर्माणमा प्रयोग गरिने जस्तापाता सरिया सिमेन्ट यही तुइनको सहारामा ल्याउनुपरेको बताउनुभयो । “मैले यही तुइनमार्फत मान्छे र समान ओसारपसार गरेको पनि वर्षौं भइसक्यो”, उहाँले भन्नुभयो ।

उहाँले बर्खाको समयमा नदीवारपार गर्न निकै डर छ । ज्यानकै बाजी राखेर वारपार गर्नुपर्ने बाध्यता छ । तुइन नभए खानलाई अन्न हुँदैन । चामल त्यही भारत गएर ल्याउने हो भन्नुभयो । दुम्लिङका बुढाथोकीले भन्नुभयो, “नेपालतिरबाट खच्चड आउने बाटोसमेत भत्किसक्यो । व्यासको सुनसेराको तुसरपानीमा पहिराले बाटो अवरुद्ध भएको छ । गाउँमा चामल पाउँदैन । तुइन लगाएर पारिपट्टिबाट ल्याउन पनि निकै समस्या छ ।” उहाँका अनुसार भारतीय एसएसबीले देख्नेबित्तिकै समातिहाल्छन् । उनीहरुको आँखा छलेरै ओसारपसार गर्नुपर्ने बाध्यता छ । अहिले बर्खाको समयमा त निकै सास्ती खेप्नुपरेको छ ।

अहिले पनि व्याँस गाउँपालिका–२ को दुम्लिङ, रिठान मालघाट, बर्ती, डोकट लगायतका ठाउँमा तुइन सञ्चालनमा छ । यहाँका झोलुङ्गे पुल निर्माण हुन नसक्दा नागरिकले तुइनको सहारामा वारपार गर्नुपरेको हो ।

झोलुङ्गे पुल निर्माणमा ढिलाइ

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तर्गतको सस्पेन्शन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुङ्गे पुल निर्माण गरिरहेको छ । मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तिघाट र मालघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको हो ।

चारवटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ । ब्याँस गाउँपालिका–२ को माल र ३ र ४ को बर्तिघाटमा झोलुङ्गे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अहिले पनि अघि बढेको छैन ।

यी दुवै ठाउँमा खम्पाचे रुविना जेभी काठमाडौँले झोलुङ्गे पुल निर्माणका लागि कूल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । यस्तै बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कूल रु दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।

ब्याँस गाउँपालिकाका मुख्य तुइन रहेका ठाउँमा झोलुङ्गे पुल निर्माण भइरहेको ढिलाइले स्थानीयवासीले हिउँद र बर्खायाम दुवै समय महाकाली नदीमाथि जोखिम मोलेर हिँड्नु परेको व्यास–२ का रवीन्द्रसिंह धामीले बताउनुभयो । मुख्य नाकामा झोलुङ्गे पुलका लागि फाउन्डेशन खनियो तर त्योभन्दा अघि काम बढेको देखिएन । “नेपालकै बाटो भएर जान पनि गाउँसम्म सडक पुगेको छैन”, उहाँले भन्नुभयो, “निषेधाज्ञा होस् जे भए पनि त्यही भारतीय बाटो भएर हिँड्नुपर्छ । नेपालतिर हिँडेरै जान एक दिनमा मुस्किलले गाउँ पुगिन्छ ।” नदी तरेर जाने हो भने एक घण्टामै सदरमुकाम खलङ्गा पुगिने भएपछि सबैको सहारा त्यही तुइन बनेको उहाँको भनाइ छ ।

अहिले बाकू र बडुगाउँमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सस्पेन्शन ब्रिज डिभिजनका इन्जिनीयर अजय यादवले भन्नुभयो, “निषेधाज्ञाका कारण निर्माणमा केही ढिलाइ भएको छ । समयमै समान पाउन नसक्दा निर्माण केही ढिला भएको हो ।” माल र बर्तिघाटमा भने पुल निर्माणमा ढिलाइ भएको छ । निर्माणमा चाहिने लट्ठा, ग्रिपलगायत सामग्री सस्पेन्शन ब्रिजले नै उपलब्ध गराउनुपर्ने हुन्छ । निर्माण व्यवसायी धनबहादुर कँुवरले ब्रिज डिभिजनले नै निर्माण सामग्री उपलब्ध गराउन नसक्दा निर्माण कार्य रोकिएको बताउनुभयो । उहाँले भन्नुभयोे, “हामीले ०७६ मङ्सिर ६ र पछिल्लो समय ०७८ वैशाख १५ गते समान उपलब्ध गराउन आयोजना प्रमुखलाई निवेदन दिएका छौँ । तर अहिलेसम्म सामान नै नदिँदा तीनचार महिनामा सकिने काम अघि बढेको छैन ।”

व्यवसायी कुँवरका अनुसार नेपाल भारत दुवैतर्फ पुल निर्माणका लागि चाहिने सामग्री जम्मा गरेको हराउन थालिसकेको छ । फाउन्डेशन पनि पुरिनथालेको छ । तर अझै समान नआउँदा काम गर्न समस्या भएको छ । बाकु र बडुगाउँमा भने असोजभित्रै निर्माण सक्ने गरी काम भइरहेको निर्माण व्यवसायी दीपक साउँदको भनाइ छ । कोरोनाका कारण समयमै सामान नआउँदा केही काम रोकिएको उहाँले बताउनुभयो । “धेरैजसो काम सकिएर आवतजावत गर्न मिल्ने भएको छ”, उहाँले भन्नुभयो, “पूरै पुल हस्तान्तरण गर्ने गरी असोजभित्र सकिन्छ ।”

यसअघि दार्चुलाकै व्यास गाउँपालिकाको तिगरम, लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा झोलुङ्गे पुल निर्माण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com