काठमाडौं, १९ असार। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि जारी रहेको हो । बैठकमा महासचिव ईश्वर पोखरेलले राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । आज पनि बैठकमा नेपाल पक्ष नेताहरु सहभागी हुनुभएको छैन । दशौं महाधिवेशन आयोजक कमिटीको नाम खारेज गरेर केन्द्रीय कमिटीको नाममा बोलाइएको बैठक भन्दै नेपाल पक्ष बैठकमा सहभागी हुन अस्वीकार गरेको हो । नेपाल पक्षका नेताहरुले शुक्रबार बालुवाटारमै पुगेर अध्यक्ष ओलीलाई भेटेर बैठक एक दुई दिन स्थगित गरेर सहमति खोज्न आग्रह गरेका थिए । तर उनीहरु बालुवाटारबाट बाहिरिए लगत्तै बसेको बैठकले नेपाल पक्षका सांसदहरुलाई सोमबार साँझ ५ बजेभित्र सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको थियो । त्यसपछि झन नेपाल पक्ष झनै विच्चिएको थियो । तर, बैठक लगत्तै नेपाल पक्षसँग ओली पक्षका दोस्रो तहका नेताहरुले भेट गरेका थिए । शुक्रबार राति र शनिबार बिहानको प्रयत्न स्वरुप तर, शनिबारको बैठक सुरु हुनुअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन सम्वाद समेत भएको थियो । पार्टी एकतालाई बचाइराख्न दुवै तर्फका दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् ।








प्रतिक्रिया दिनुहोस्