काठमाडौं, ४ असार । अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी करिब एक सातामा १५ जनाको मृत्यु भएको छ । गएको जेठ ३० गतेदेखि शुक्रबार दिउँसो (आज)सम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।ज्यान गुमाउनेमा नौ पुरुष, तीन महिला, दुई बालक र एक बालिका हुन् । बाढी–पहिरोमा परी सिन्धुपाल्चोक र डोटीमा तीनरतीनजनाको मृत्यु भएको छ । यस्तै, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट र बाजुरामा एक/एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसारका यो अवधिमा बाढी–पहिरो र डुबानमा परी देशभर १६ जना घाइते भएका छन् । तीमध्ये १० पुरुष, चार महिला र दुई बालिका छन् । सिन्धुपाल्चोकमा ६, म्याग्दीमा तीन, जुम्ला र डोटीमा दुईरदुई, कास्की, स्याङ्जा र सल्यानमा एकरएकजना घाइते भएका हुन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको छ ।यसैगरी, बाढी–पहिरोमा परी देशभर २५ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, पाँच महिला, दुई बालक र एक बालिका रहेका छन् । सिन्धुपाल्चोकमा १७, जाजरकोटमा सात र बाजुरामा एकजना बेपत्ता भएका हुन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्