काठमाडौं, ३० बैशाख । संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नै उभिने भएपनि कांग्रेसले सरकार गठनका लागि बहुमत पुराउन नसकेको हो । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिनुभयो । साथै उहाँले एकपटक प्रतिनिधिसभामा विश्वासको मत गुमाईसकेका प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा २ बमोजिम जसपासंग मिलेर सरकारको नेतृत्वको दाबी गर्न नमिल्ने तर्क पनि गर्नुभयो ।
उहाँले भन्नुभयो “संंभावना देखिएन । हामी त तयारै हो । संविधानको धारा ७६ को उपधारा २ अनुसार जुन आजसम्म दाबी गर्ने समय थियो । यसभित्र अरु सहयोगी दलहरुको पनि निर्णयको आवश्यकता पथ्र्यो । जसपामा पनि एकमतको निर्णय गर्ने अवस्था देखिएनर माधव जीहरुले पनि निर्णय गर्न सक्नुभएन ।
त्यसो हुनाले दाबी गर्ने अवस्था अब रहेन । परिणाम नआउने दाबी गर्न जाने कुरा भएन । एक /दुई घण्टामा अचानक समर्थन जुट्ने अवस्था आयो भने वेग्लै कुरा हो । तर अहिलेसम्म त्यो स्थिति देखिएन । ७६/२ (संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत त उहाँ(प्रधानमन्त्री केपी शर्मा ओली)ले दाबी गर्न सक्नुहुन्न । त्यो त गलत नजिर बस्छ । उहाँले एकपटक संसदमा विश्वासको मत लिन असफल भईसकेपछि फेरी ७६/२(संविधानको धारा ७६ को उपधारा २ ) अन्र्तगत दाबी गर्नु अनुपयुक्त हुन्छ । त्यो अनुसार गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।” संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठनका लागि निर्णायक मतको रुपमा रहेको जसपामा महन्थ ठाकुर समुह प्रधानमन्त्री ओलीको पक्षमा छन् भने उपेन्द्र यादव समुह विपक्षमा छन् ।








प्रतिक्रिया दिनुहोस्