काठमाडौं, २९ जेठ । दैनिकजसो मुख्य चोक चोकमा सरकारविरोधी प्रदर्शनलाई जारी राखेपछि गृह मन्त्रालयले त्यस्तो काम गरे वा त्यस्ता प्रदर्शनमा सहभागी भए ६ महिनासम्म थुन्ने चेतावनी दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी प्रदर्शन वा यस्तै नाममा धेरै मानिस जम्मा हुने, भीडभाड बढ्ने र यसले कोरोना संक्रमणको जोखिम उच्च हुने उल्लेख गर्दै यस्ता गतिविधिमा सामेल नहुन, कसैलाई सामेल नगराउन आग्रह गरिएको छ ।
सरकारको आग्रहविपरीत कसैले प्रदर्शन गरे, भीडभाड गरे वा यस्ता भीडभाड बढाउने कार्यक्रममा कसैलाई सहभागी गराउने काम गरे संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाही हुने समेत चेतावनी दिइएको छ ।
सो ऐनको सो दफामा बन्दाबन्दीको आदेश उल्लंघन गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीको आदेशमा १०० देखि ६०० सम्म जरीवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्ने व्यवस्था रहेको छ ।
पछिल्लो समय क्वारेन्टीनमा बसेका सवैको पीसीआर चेक गरिनुपने लगायत माग गर्दै देशका प्रमुख शहरहरुमा युवाहरुले प्रदर्शन गरिरहेका छन् । यसैलाई रोक्न गृहले कडा निर्देशन जारी गरेको हो ।
गृह मन्त्रालयको निर्देशन








प्रतिक्रिया दिनुहोस्