
बझाङ,२४ पुस । बझाङमा एक हप्तादेखि परेको हिमपातका कारण बझाङमा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्र चल्ने साना ठूला सवारी साधन समेत ठप्प भएका छन्। बझाङ जिल्ला जोड्ने जयपृथ्वी राजमार्गको बिभिन्न स्थानमा यतिबेला बाक्लो हिउँ जमेको छ। डडेलधुराको अनराखोली, बैतडी जिल्लाको श्रीभावर क्षेत्र र बझाङको स्याँडी लगायतका स्थानमा बाक्लो हिउँ जमेका कारण यातायात सञ्चालनमा आउन सकेको छैन।
बझाङ, बैतडी जिल्लाका बिभिन्न क्षेत्रमा डोजर लगाएर बाटो खाल्ने प्रयास भैइरहेको भएपनि लगातार हिमपात भइरहेकाले बाटो पूर्णरुपमा खोल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे बताए । प्रशासन कार्यालय बझाङले जानकारी दिएको छ।
यस्तै नेपाल टेलिकमको सेवा समेत प्रभावित हुँदा यतिबेला जिल्ला सञ्चार विहीन जस्तै बनेको छ।एकहप्ता अघिबाट लगातार हिमपात र भारी बर्षा हुन थाले पछि केदारस्यूँ गाउँपालिकाको केदार र थलारा गाउँपालिकाको बान्तालेकमा रहेका नेपाल टेलिकमका रिपिटर टावरहरू अवरुद्घ भएका हुन्।बाक्लो हिमपातका कारण सोलार पातामा हिउँ जमेर ब्याट्री चार्ज नहुँदा नेपाल टेलिकमको सेवा प्रभावित भएको दुर सञ्चार कार्यालय बझाङले जानकारी दिएको छ।
दुर सञ्चार कार्यालय बझाङका अनुसार सोलार प्यानल निकै पुरानो भएको र सोलारले धेरै समय पावर ब्याकप राख्न नसक्दा घाम नलाग्दा नेपाल टेलिकमको टेलिफोन सेवा बेलाबेला अवरुद्घ हुँदै आएको छ।गत आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बझाङमा बेलाबेला विद्युतको समस्या हुँदै आएको छ। लामो र नयाँ लाइन भएको कारण बेलाबेलामा विद्युतमा समस्या हुँदै आएको थियो। तर दश दिन यता भने हिमपात भएका कारण विद्युत पूर्णरुपमा अवरुद्घ भएको हो। विद्युत लाइन मर्मत गर्न खोजेपनि हिमपातका कारण सडक खुल्न नसक्दा मर्मत गर्न नसकिएको विद्युत प्राधिकरण बझाङ शाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्