ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसोसँगै राजधानीमा ह्वात्तै बढ्यो विद्युत् माग


admin

काठमाडौं, २२ पुस । राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ ।विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक हजार ८९ मेगावाट मात्रै पुगेको थियो । जाडोका कारण देशव्यापीरुपमा नै विद्युत् माग बढेर एक हजार ३५२ मेगावाट पुगेको छ । लक्ष्मीपूजाको दिन सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको थियो । जाडो बढ्दा माग ११९ मेगावाटले वृद्धि भएको छ ।

एक्कासि विद्युत् माग बढ्दा सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिएको छ । यस्तै प्रसारण तथा वितरण प्रणालीमा पनि ‘ओभर लोड’ देखिएको छ । जाडोका कारण हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलेका कारण पनि विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणले औसतमा विद्युत् माग ३५० मेगावाटको हाराहारीमा हुने अनुमान गरेको थियो तर अनुमान गरेभन्दा झण्डै १०० मेगावाट बढी माग प्रणालीमा देखिएको छ । जाडो बढेको खण्डमा अझै विद्युत् माग बढ्न जाने सम्भावना रहेको छ । प्राधिकरणले विद्युत् माग बढ्नुलाई सकारात्मक रुपमा नै लिएको छ । यद्यपि झयाप्प–झयाप्प लाइन काटिदा मर्का पर्ने गरेको उपभोक्ताको गुनासो छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विद्युत् माग बढेसँगै देखिएका समस्या समाधानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिनुभएको छ । “सवस्टेशन र ग्रीडमा देखिएको समस्या त करिब–करिब समाधान भइसकेको छ । केही वितरण तथा प्रसारण प्रणालीमा देखिएको उल्झनको समाधानका लागि निरन्तर अनुगमन जारी छ”, प्रवक्ता अधिकारीले भन्नुभयो । यस्तै राजधानीमा भइरहेको सडक विस्तारका कारण पनि केही स्थानमा अनिवार्य रुपमा लाइन काटिएको छ । प्रवक्ता अधिकारीका अनुसार चक्रपथमा रुख बिरुवा हटाउने कार्यका लागि पनि दिनभरजसो नै लाइन काट्नुपरेको छ । यस्तै समस्या देखिएको स्थानमा नयाँ ट्रान्सफर्मर थप्न तथा ग्रीडको मर्मत तथा सुधारका लागिसमेत एकाध स्थानमा लाइन काटिएको हुनसक्ने उहाँको भनाइ छ । “हामीले नियमित रुपमा विश्वसनीय र समान भोल्टेजको विद्युत् उपलब्ध गराउनका लागि प्रयास गरिरहेका छौँ । जाडोको समयमा औसतरुपमा नै बढी विद्युत् माग हुन जान्छ । हरेक घर, कोठामा समेत हिटर र एसी चलेका छन् । त्यसका कारण पनि माग बढी भएको हो, हामी सकेसम्म विद्युत् नकाटिने गरी नै समस्या समाधानमा लागिपरेका छौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो ।

प्राधिकरणले ओभरलोड भएका फिडरमा त्यस्तो लोड घटाउन बढी क्षमता भएका ट्रान्सफर्मर जडानलाई समेत निरन्तरता दिएको छ । यस्तै वितरण प्रणालीमा देखिने समस्या समाधानका लागि २४ सैँ घण्टा परिचालित हुने गरी प्राविधिकसहितको जनशक्ति परिचालन गरिएको छ ।प्राधिकरणले माग जति बढे पनि पुग्दो विद्युत् उपलब्ध गराउन कुनै समस्या नरहेको उल्लेख गर्दै आएको छ । माग बढे पनि पुरानो प्रणालीका कारण ती स्थानमा ओभरलोडको समस्या भने देखिएको प्राधिकरणले स्वीकार गरेको छ । प्रवक्ता अधिकारीले भन्नुभयो, “विद्युत् नपुगेर कहीँकतै पनि लाइन काटिएको होइन, पुरानो प्रणाली मर्मत तथा सुधार गर्दा केही समय काट्नुपरेको हो । यस्तो समस्या क्रमशः समाधान भएर जान्छ नै ।”

समस्या आएको छ, तर समाधानका लागि पनि काम भइरहेको र प्रणाली सुधार गर्दा, फिडर परिवर्तन गर्दा केही स्थानमा अनिवार्य रुपमा नै लाइन काट्नुपर्ने प्राधिकरणको भनाइ छ । यस्तै केही स्थानमा थप ट्रान्सफर्मर राख्ने स्थानको अभावमा पनि लोड व्यवस्थापनमा जटिलता देखिएको छ । शहरमा सडक विस्तारको काम जारी छ । विशेष गरी चक्रपथलगायतका स्थानमा सडक विस्तारको काम भइरहेका कारण पोल सार्नुपर्ने अवस्थाका कारण पनि केही समय लाइन काटिएको प्राधिकरणको भनाइ छ । जाडोका कारण विशेष गरी शहरी क्षेत्रमा ट्रान्सफर्मरको क्षमताभन्दा बढी विद्युत् माग भएको छ । ती स्थानमा माग एकै पटक धान्ने भन्दा बढी पनि आउने गरेको छ ।

यसले सिस्टमको कमजोरी पत्ता लगाउन पनि हामीलाई सहज भएको छ । तर, जनतालाई सास्ती नहोस् भनेर लाइन जानासाथै प्राधिकरणले समस्या समाधान गर्न टोली खटाउने गर्छ । वितरण लाइन पुरानो भएर आएका समस्या हटाउन हामीले सुधारको काम गरिरहेका छौँ । बढी लोड भएका ठाउँमा फिडर थप्दैछौँ, फेर्दैछौँ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार विद्युत् माग घण्टापिच्छे नै फरक फरक रहेको छ । यस्तै केही आयोजनामा विद्युत् उत्पादन पनि कम भइसकेको छ । वर्षाको समयमा स्थानीय उत्पादनले नै माग धान्ने अवस्था भए पनि हिउँद लाग्दै गएपछि त्यसलाई व्यवस्थापन गर्न भारतबाट पनि थप विद्युत् आयात भइरहेको छ तर परिणामात्मक रुपमा आयात भइरहेको विद्युत्को मात्रा विगतको वर्षको तुलनामा असाध्यै कम रहेको छ । सुक्खायाम बढ्दै जाँदा माग व्यवस्थापनाका लागि भारतबाट करिब ४०० मेगावाटको हाराहारीमा आयात हुनसक्ने देखिएको छ ।

प्राधिकरणले समस्या देखिएका स्थानको बारेमा जानकारी दिनसमेत उपभोक्तालाई आग्रह गरेको छ । “हामी कहीँकतै पनि विद्युत् प्रवाहमा समस्या नहोस् भन्ने चाहेका छौँ, त्यस कारण समस्या देखिने बित्तिकै नो लाइट तथा नजिकको वितरण केन्द्रमा सम्पर्क गर्न आग्रह गर्दछौँ”, प्रवक्ता अधिकारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com