
काठमाडौं, १३ मंसिर । नेपाल चीन सम्बन्धलाई मिडियालाई सकारात्मक ढङ्गले उजागर गर्नुपर्नेमा बुद्धिजीवी तथा सञ्चारकर्मीले जोड दिनुभएको छ । नेपाल चाइना मिडिया फोरमद्वारा ‘नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध सुदृढ गर्न मिडियाको भूमिका’ विषयमा आज आयोजित विचारगोष्ठीमा कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सहभागीले दुवै देशबीचको सम्बन्धबारेको इतिहास राम्रोसँग अध्ययन गरी त्यसबाट केही सिकेर सम्बन्ध अघि बढाउन पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो ।
उद्घाटनपछिको छलफल सत्रमा काठमाडौँ स्कूल अफ लका कार्यकारी निर्देशक तथा प्रमुख प्रा डा युवराज सङ्ग्रौलाले कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ राष्ट्रपति सी चिन फिङले सार्वभौमिकता, भौगोलिक अखण्डता, सुरक्षा, स्थिरता र समृद्धिको स्पष्ट अवधारणाका साथ ल्याएको बेल्ट एण्ड रोड इनिसियटिभलाई ऋणको पासोमा पार्ने तथा साम्राज्यवाद विस्तार गर्ने भनी आरोप लगाउनाको अर्थ नहुने बताउँदै चीनबाट लगानी, पर्यटक र रेल आउँदैमा साम्यवाद नआउने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “मिडियाले नेपाल, भारत र चीनलाई जुधाउनेभन्दा पनि नजिक्याउन सहयोग गर्नुपर्छ ।”
पत्रकार युवराज घिमिरेले दलहरुले राजनीतिक सार्वभौमिकता अरुलाई बुझाएको आरोप लगाउँदै अहिले भौगोलिक सार्वभौमिकता मिचिएको भनी कराउनुको अर्थ नहुने बताउनुभयो । “दलहरुले पहिले सार्वभौमिकताको चरित्र देखाउन सक्नुपर्छ ”, उहाँले भन्नुभयो । प्रा डा सङ्ग्रौलाको कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीति विभागका कार्यक्रम समन्वयकर्ता प्रा डा खड्ग केसीले नेपालले व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी आदिका माध्यमबाट चीनसँगको सम्बन्ध र संलग्नता बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालको राष्ट्रिय हित हेरी चीनबाट लगानी ल्याउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
पत्रकार घिमिरेको कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार तीर्थ कोइरालाले नेपाल चीन प्राचीन सम्बन्धलाई उजागर गर्दै समयानुकूल सम्बन्ध विस्तारमा जोड दिनुभयो । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपछि पत्रकारले सचेत भएर कलम चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले दुई देशबीचको सम्बन्धका समसामयिक चुनौतीलाई पनि उजागर गर्न पत्रकारलाई आह्वान गर्नुभयो ।
यसअघि आज बिहान भएको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासका लागि नेपाल, भारत र चीन त्रिदेशीय साझेदारीमा जोड दिनुभएको थियो । उहाँले देशहरुबीच भौतिक विकास मात्र नभई विचारात्मक बहस पनि अघि बढाउन पत्रकारलाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले चिनियाँ लगानी आकर्षण गरी निर्यात बढाउनुपर्ने, व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने र बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्र्याउनुपर्ने बताउनुभयो । नेपालस्थित चिनियाँ राजदूतावासका राजनीतिक तथा प्रेस शाखाका प्रमुख वाङ सियालोङले नेपाल चीन कनेक्टिभिटी र जनस्तरको सम्बन्धमा जोड दिनुभयो ।
नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल चीन सम्बन्ध सरकारस्तर, जनस्तर र राजनीतिक दलस्तरमा भइरहेको बताउँदै नेकपा नेतृत्वको सरकारले चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाउन योगदान दिएको विचार व्यक्त गर्नुभयो । सन् २००९ मा स्थापित मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल चीन सम्बन्ध व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन मिडियाले भूमिका खेल्नुपर्ने बताउँदै फोरमको पहलमा पत्रकारहरुलाई चिनियाँ भाषा प्रशिक्षण दिन लागिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्