८५ वर्षको बृद्ध व्यक्ति किन पार्टीको महामन्त्री भयो ?

नातावादको आक्षेप



नेकपा (मसाल)को आठौँँ महाधिवेशन भइरहेको बेलामा वा त्यसपछि पनि विभिन्न अनलाइन, बिभिन्न पत्रपत्रिका वा सामाजिक सञ्जालहरूमा कैयाँैं भ्रामक प्रचार गरिएका छन् । त्यसबारे प्रकाश पार्नका लागि यो लेख लेखिएको छ ।

विभिन्न कोणबाट फैलाइएका त्यसप्रकारका भ्रमहरूबारे प्रकाश हाल्नुभन्दा पहिले यसप्रकारका भ्रमहरू कसले फैलाउने प्रयत्न गरेको छ र त्यसका पछाडिको नियत के हो ? त्यसबारे केही प्रकाश हाल्नु पर्ने आवश्यकता छ । पार्टी महाधिवेशनका बेलामा चलेको दुईलाइनको सङ्घर्षको सन्दर्भमा पार्टीभित्र वा कतिपय स्वीकृत विषयहरूमा पार्टी बाहिर पनि, जस्तै कि चीन र भारत साम्राज्यवादी देश हुन् वा होइनन् ? भन्ने विषयमा बेग्लाबेग्लै मतहरू प्रकट हुनु स्वभाविक नै थियो । त्यो पार्टीभित्रको जनवादको परिचायक थियो । तर, महाधिवेशन समाप्त हुनुका साथै पार्टीभित्र वा कतिपय विषयहरूमा सार्वजनिक रूपले पनि मतभेदको चरण समाप्त भएको छ । पार्टीका कुनै सदस्यहरूलाई अहिले पनि आफ्ना मतभेदहरू राख्ने अधिकार छ । तर, त्यो कार्य पार्टीको विधान वा नियमअनुसार वा तोकिएको प्रक्रियाअनुसार नै चल्ने कुरा हो । त्यसप्रकारका मतभेदहरूलाई पार्टीभित्र सबैतिर वा सार्वजनिक रूपमा पनि बाहिर लैजाने कार्य कुनै पनि पार्टी सदस्यले गर्न मिल्दैन । निश्चय नै कतिपय अवस्थामा पार्टीमा पार्टीका इमान्दार सदस्यहरूद्वारा पनि त्यसप्रकारका गल्ती वा कमजोरी हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । तर, ती अपवाद कार्यहरू हुन्छन् र पार्टीको विधान वा नियमअनुसार तिनीहरूलाई समधान गर्ने वा नियन्त्रण गर्न सकिन्छ र गर्नु पनि पर्दछ । तर, हाम्रो पार्टीको आठौँँ महाधिवेशनबारे कैयौँ व्यक्ति वा पक्षद्वारा लगातार, सनियत वा योजनावद्ध प्रकारले नै भ्रम फैलाउने काम भइरहेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि पार्टीको कुनै इमान्दार वा अनुशासित सदस्यद्वारा त्यसप्रकारको कार्य गरिंदैन र गरिएको छैन पनि भन्ने कुरामा हामी पूरा विश्वस्त छाँैं । अनि प्रश्न उठ्दछ, त्यसप्रकारको कार्य कसले गरिरहेको छ ?

पार्टीका विरुद्ध भ्रम फैलाउने जुन काम भइरहेको छ, पार्टी विरोधी, दुश्मनका एजेण्ट, पार्टीभित्रका घुसपैठिया जुनसुकै तरिकाले भएपनि पार्टीलाई ध्वस्त गर्न चाहने वा पार्टीप्रति द्वेष र शत्रुताको भाव राख्ने तत्वहरूद्वारा नै भइरहेको कुरा बुझ्न गाह्रो पर्दैन । यो कुनै लुकेको कुरा होइन कि पार्टीको इतिहासका सबै कालखण्डहरूमा पार्टीमाथि त्यसरी हमला गर्ने वा पार्टीका विरुद्ध भ्रम फैलाउने कार्य हुँदै आएको छ । नेपाल मात्र होइन, संसारका सबै देशहरूमा माक्र्स, ऐङ्गेल्स, लेनिन, स्तालिन वा माओका पालामा पनि पार्टी वा आन्दोलनप्रति त्यसरी हमला गर्ने वा दुष्प्रचार गर्ने काम हुँदै आएको छ । त्यसप्रकारका थु्रपै लेख वा पुस्तकहरू प्रकाशित भएका छन् । त्यो लगातार चल्ने सिलसिला हो । जबसम्म संसारमा कम्युनिस्टहरूको अन्तिम विजय हुँदैन, पार्टी विरोधी, दुश्मनका एजेण्ट वा उनीहरूका विभिन्न खुफिया एजेन्सीहरूले त्यसप्रकारको धन्दा लगातार चलाइरहन्छन् ।

यस सिलसिलामा हङकङको एउटा एजेन्सीको कार्यविधि उल्लेखनीय छ । त्यसको मुख्य काम नै चीनको पार्टी वा माओत्सुतुङबारे लगातार नयाँ नयाँ भ्रामक समाचारहरूको सिर्जना गरेर प्रचार गरिरहनु हुन्थ्यो । एउटा त्यसप्रकारको समाचार सेलाएपछि त्यसले पुनः नयाँ भ्रामक समाचारको रचना गरेर प्रचार गर्दथ्यो । पार्टी विरोधी, दुश्मनका एजेन्ट वा खुपिया एजेन्सीहरूले लगातार त्यसप्रकारको कार्य गरिरहेका हुन्छन् । नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा पनि त्यसप्रकारको कार्य लगातार हुने गरेको छ । त्यसप्रकारको कार्यलाई प्रभावशाली बनाउनको लागि उनीहरूले पार्टीभित्र घुसपैठ गर्ने वा त्यसभित्र कैयौँ सम्पर्कहरू बनाएर पार्टीका जानकारीहरू प्राप्त गर्ने प्रयत्न पनि गर्दछन् । खास गरेर जुनबेला पार्टीमा अनुशासनको अवस्था कमजोर हुन्छ वा पार्टीभित्र तीव्र मतभेद वा अन्तर्विरोधहरू हुन्छन्, उनीहरू त्यसो गर्न अपेक्षाकृत बढी सफल पनि हुने गर्दछन् ।

हाम्रो पार्टीको आठाँैं महाधिवेशनले यो स्वीकार गरेको छ कि अहिले पार्टीमा अनुशासनको अवस्था धेरै नै कमजोर छ । त्यो महाधिवेशनभन्दा पहिले, महाधिवेशनको बेलामा वा त्यसपछि पनि पार्टीभित्रबाट कैयौँ गौप्य सूचनाहरूको चुहावट भएको कुराबाट प्रष्ट हुन्छ । कतिपय बेलामा, जस्तो किमाथि पनि भनियो, पार्टीका इमान्दार र अनुशासित साथीहरूबाट पनि गल्ती कमजोरीहरू भएर पार्टीभित्रका सूचनाहरू बाहिर जाने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । तर, गतकालमा जसरी पार्टीभित्रका थुप्रै गोप्य कुराहरू बाहिर जाने गरेका छन्, त्यसबाट पार्टीभित्र नै बाहिरका गलत तत्वहरूको धेरै नै पहुँच भएको वा पार्टीभित्र कुनै न कुनै तहमा घुसपैठ भएको स्थितिलाई नै बताउँछ । तर, पार्टीको कुनै सदस्यले लगातार पार्टीभित्रका गोप्य सूचनाहरू पार्टी बाहिरका गलत तत्वहरूलाई दिने वा छद्म वा अप्रत्यक्ष प्रकारले पार्टीको सार्वजनिक रूपले नै आलोचना गर्ने गर्दछन् भने त्यो गम्भीर प्रकारको गल्ती वा अक्षम्य अपराध पनि हो । त्ससप्रकारका तत्वहरूलाई पत्ता लगाउनका लागि पार्टीका सबै स्तरका समिति वा सदस्यहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । नत्र त्यसप्रकारका तत्वहरूले पार्टीलाई गम्भीर क्षति पुर्‍याउन सक्दछन् ।

आठौँ महाधिवेशनका सिलसिलामा पार्टीका विरुद्ध खास गरेर तल लेखिएअनुसारका भ्रमहरू फैलाउने काम गरिएको छ ।

१. ८५ वर्षको बृद्ध व्यक्ति किन पार्टीको महामन्त्री भयो ?

आठाँैं महाधिवेशनको सन्दर्भमा सबैभन्दा बढी आक्षेप लगाइएको विषय यही हो । यो विषयलाई सर्वप्रथम व्यक्तिगत आधारमाभन्दा त्यससित जोडिएको प्रक्रियाका आधारमा विचार गर्नुपर्ने आवश्यकता छ । यस सन्दर्भमा पार्टीको कुनै सदस्य कुन उमेरसम्म पार्टीको नेतृत्वमा रहन मिल्छ भन्ने प्रश्नभन्दा महत्वपूर्ण प्रश्न यो हो ः कुनै व्यक्तिले कुन उमेरसम्म पार्टीमा सक्रिय भएर काम गर्न मिल्दछ ? कतिपय व्यक्तिहरू कम उमेरमा नै पार्टीमा सक्रिय हुन छाड्दछन्, निक्रिय हुन्छन् वा पार्टीबाट पलायन हुन्छन् । पार्टीप्रतिको आस्था, उत्साह वा कतिपय अवस्थामा रोग वा शारीरिक असक्तताका कारणले पनि कतिपय व्यक्तिहरू कम उमेरमा नै पार्टीको कामबाट पछाडि हट्दछन् । तर, कुनै व्यक्तिले लामो समयसम्म वा बृद्ध अवस्थामा पुगेपछि पनि पार्टीमा काम गर्ने उत्साह वा सक्रियतालाई कायम राख्दछ भने के त्यो अपराध हुन्छ ? त्यसरी कुनै व्यक्ति पार्टीमा सक्रिय भएको अवस्थामा उसलाई के जिम्मेवारी दिने वा कुन कमिटीमा राख्ने त्यो पार्टी वा सम्बन्धित कमिटीका सदस्यहरूले निर्णय गर्ने कुरा हो । माक्र्स, ऐङ्गेल्स, स्तालिन, माओ, होचिमिन्ह आदिले धेरै नै बृद्ध भइसकेपछि पनि पार्टीको नेतृत्व वा महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरेका थिए ।
भारतको सोहरतगढमा भारतीय कम्युनिष्ट पार्टीका एकजना बृद्ध कामरेड शीतलप्रसाद हुनुहुन्थ्यो । आफ्नो उमेरमा उहाँले ठूलाठूला आन्दोलनहरूको नेतृत्व गर्नुभएको थियो र त्यहाँको पार्टीको प्रान्तीय समितिमा पनि हुनुहुन्थ्यो । तरपछि करिब पचासी वर्षको उमेरमा पुगेर शारीरिक रूपले धेरै नै कमजोर भएपछि सोहरतगढको स्थानीय टोलको सेलमा बसेर काम गर्ने गर्नुहुन्थ्यो । त्यही प्रकारले आज पार्टीले मलाई महामन्त्रीमा निर्वाचित गरेको छ भने त्यसले भोलि मलाई सल्लाहकारमा राख्न, कुनै जिल्ला कमिटीमा राख्न वा मेरो आफ्नो गाउँ ओखरकोट वा अन्यत्र कतै सेलमा पनि राख्न सक्दछ । त्यो मेरो काम गर्नसक्ने क्षमता, स्प्रिट वा पार्टीले कुनै पार्टी सदस्यलाई कहाँ राखेर वा कुन जिम्मेवारी दिएर काम गराउनु उचित हुन्छ ? त्यस आधारमा निर्णय गर्ने कुरा हो । त्यो बाहेक कुनैबेला एउटै समयमा पनि पार्टीमा महामन्त्री, जिल्ला पार्टीको सेक्रेटरी वा एरिया कमिटीका सदस्यहरूका लागि पनि कैयौँ पार्टी सदस्यहरू उपयुक्त हुन सक्दछन् । उनीहरूमध्ये सबै व्यक्तिहरू महामन्त्री, कुनै कमिटीको सेक्रेटरी वा कुनै कमिटीका सदस्यहरूमा सबै जना निर्वाचित हुन सक्दैनन् । त्यो अवस्थामा कुनै पद वा कमिटीका लागि सम्भावित उम्मेदवारहरू मध्ये कसलाई निर्वाचित गर्ने ? त्यो सम्बन्धित कमिटीले निर्णय गर्ने कुरा हो ।
उपर्युक्त प्रक्रियाअनुसार नै म द्वितीय महाधिवेशनमा केन्द्रीय समितिको सदस्य, तृतीय महाधिवेशनमा पीवीमा, चौथौँ र छैठौँ महाधिवेशनहरूमा महामन्त्रीमां, एकताकेन्द्रसित पार्टी एकता भएपछि महामन्त्रीमा, सातौँँ र आठौँँ महाधिवेशनहरूमा पुनः महामन्त्रीमा निर्वाचित भएँ भने ती पार्टीको प्रक्रियाअनुसार नै भएका निर्णयहरू थिए । कुनबेला कुनै पार्टी कमिटीले कुनै पदको लागि कसलाई निर्वाचित गर्ने ? त्यो कुरा आफ्नो निर्धारित प्रक्रियाअनुसार निर्णय गर्ने कुरा हो । भोलि नवौँ वा दशौँ महाधिवेशनहरूको बेलामा पनि म पार्टीको काम गर्न शारिरिक र मानसिक रूपले योग्य भएमा पार्टीले केन्द्रीय कमिटीदेखि सेल वा समर्थक गु्रपसम्म कुनै तहमा बसेर काम गर्ने जिम्मा दिन सक्दछ । अहिले पनि पार्टीले मलाई महामन्त्रीबाट हटाएर कुनै एरिया वा सेलमा काम गर्ने जिम्मा दिन्छ भने पनि त्यो मलाई सहर्ष स्वीकार हुनेछ । पहिले महामन्त्री भएको बेलामा पनि मैले त्यहाँबाट निष्कासित भएर, कुनै बेला सामान्य सेलमा बसेर वा महामन्त्रीबाट हटेर केन्द्रीय समितिमा बसेर वा केन्द्रीय समितिको पर्यवेक्षक भएर मात्र पनि काम गर्ने गरेको छु । कुन बेला कुन पद प्राप्त हुन्छ ? त्यो मुख्य कुरा होइन । मुख्य कुरा शारिरीक र मानसिक रूपल समर्थ हुँदासम्म पार्टीमा सक्रिय भइरहने हो । त्यस सन्दर्भमा कसैको उमेर ८५ वा १०० कति पुग्यो ? त्यो गौण महत्वको कुरा हो । मुख्य प्रश्न कुनै बेला कुन पदमा बस्ने भन्ने होइन, प्रश्न पार्टीप्रतिको आस्था, उत्साह वा सक्रियताको कायम रहँदासम्म जहाँ बसेर पनि पार्टीको काममा सकेसम्म योगदान दिने भन्ने नै हो । यसरी यो प्रश्न व्यक्तिगत रूपमा मसँग जोडिएको नभएर पार्टीको प्रक्रियासित जोडिएको विषय हा । पूर्व एमालेले ७० वर्ष काटेका व्यक्तिहरूलाई केन्द्रीय समितिमा नराख्ने निर्णय गरेको थियो । तर, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा र हाम्रो पार्टीमा पनि त्यसप्रकारको कुनै नियम छैन । त्यसैले कुन उमेरमा को महामन्त्री भयो वा भएन भन्ने प्रश्न सिद्धान्तहीन, अराजनीतिक वा गौण महत्वको प्रश्न हो । जसले त्यसप्रकारको टिकाटिप्पणी गरिरहेका छन्, त्यसले उनीहरूको निम्नस्तरको र असैद्धान्तिक पिछडिएको मानसिकतालाई नै बताउँछ ।

२. आठाँैं महाधिवेशनले दक्षिणपन्थी दिशा समातेको छ ।
आठौँँ महाधिवेशनले एकातिर, माक्र्सवादी–लेनिनवादी सिद्धान्त र रणनीति तथा, अर्कातिर, अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिको ठोस विश्लेषण गरेर नै आफ्नो कार्यक्रम, रणनीति वा तात्कालिक नीतिहरू निर्धारित गरेको छ । निश्चय नै, जसले माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा रणनीतिप्रति सही दृष्टिकोण अपनाउँदैनन् वा तत्कालको वस्तुस्थितिमाथि सही प्रकारले विचार गर्न सक्दैनन्, उनीहरूले अहिले हाम्रो पार्टीको आठौँँ महाधिवेशनले लिएको सही कार्यदिशालाई दक्षिणपन्थी देख्ने गरेका छन् । वास्तवमा देशका बेग्लाबेग्लै राजनीतिक शक्ति वा तत्वहरूले विषयहरूलाई हेर्ने आफ्नो बेग्लाबेग्लै कोणअनुसार नै हाम्रा नीति वा निर्णयहरूलाई व्याख्या गर्ने वा बुझ्ने गर्दछन् । राजावादीहरूले हाम्रो गणतन्त्र वा धर्मनिरपेक्षताको सोचाइलाई गलत बताउँछन् । त्यसैगरेर उग्रवामपन्थीहरूले पनि गणतन्त्रको रक्षामा जोड दिने हाम्रो नीतिलाई गलत बताउँछन् । सङ्घीयताका पक्षपातीहरूले सङ्घीयताको विरोध गर्ने हाम्रो नीतिलाई गलत बताउँछन् । नेकाले हाम्रो भारतीय साम्राज्यवादप्रतिको नीतिलाई विरोध गर्दछ । त्यही प्रकारले अन्य विभिन्न पक्षहरूले पनि आफ्नोआफ्नो राजनीतिक मान्यता वा दृष्टिकोणअनुसार नै हाम्रा नीति वा कार्यक्रमहरूको मूल्याङ्कन वा आलोचना गरिरहेका हुन्छन् । त्यसप्रकारको पृष्ठभूमिमा नै कसैले हाम्रो पार्टीका नीति वा कार्यक्रमहरूलाई दक्षिणपन्थी आक्षेप लगाएको आलोचनाको मूल्याङ्कन गर्नुपर्दछ । कतिपय पक्षहरूले आफ्नो पूर्वाग्रह वा हामीप्रतिको द्वेषपूर्ण दृष्टिकोणका कारणले जुनसुकै प्रकारले वा जुनसुकै रूपमा भए पनि हाम्रो विरोध गर्ने उद्देश्यलाई केन्द्रमा राखेर नै हाम्रो पार्टीको आलोचना गर्ने वा गालीगलौज पनि गर्ने गरिरहका हुन्छन् । त्यस्ता तत्वहरूको लागि कुनै नीतिको प्रश्न प्रधान हुँदैन, तर जुनसुकै रूपमा भए पनि विरोध गर्ने उद्देश्य नै प्रधान हुन्छ । त्यसकारण उनीहरूको हाम्रो पार्टीको आठौँँ महाधिवेशनका निर्णयहरूलाई दक्षिणपन्थी ठहराउने आक्षेपले कुनै अर्थ र महत्व राख्दैन ।

३. आठौँ महाधिवेशनमा जनवादको हनन् गरियो ।
यो अत्यन्त निम्नस्तरको र निराधार आलोचना हो । आठाँैं महाधिवेशनको सिलसिलामा जनवादको जुन उच्च रूपमा प्रयोग वा अभ्यास गरिएको छ, त्यो नेपालको राजनीतिक इतिहास वा कम्युनिस्ट आन्दोलनको इतिहासमा नै कहिल्यै गरिएको थिएन । नेपालको राजनीतिको वा कम्युनिस्ट आन्दोलनको सरसरी वा सामान्य प्रकारको ज्ञान भएको मानिसबाट पनि त्यो लुक्ने कुरा होइन । आठौँँ महाधिवेशनभन्दा पहिले बहुमत र अल्पमतका दस्तावेजहरूमा पार्टीभित्र देशव्यापी रूपमा छलफल चलाइएको थियो । फोरमद्वारा सबै पार्टी सदस्यहरूलाई पार्टीका नीति वा नेतृत्वबारे आफ्ना मतभेद वा आलोचनाहरू प्रस्तुत गर्ने अधिकार दिइएको थियो । महाधिवेशनमा पनि सबै प्रतिनिधि वा पर्यवेक्षकहरूलाई ग्रूपहरूमा वा जनरल प्रकारले छलफल चलाउने अधिकार दिइएको थियो । आलोचना र आत्मालोचनाको कार्यक्रमअन्तर्गत महामन्त्री वा केन्द्रीय समितिका सदस्यहरूको आलोचना गर्ने अधिकार दिइएको थियो वा स्पष्टिकरणबाट चित्त नबुझेको अवस्थामा महामन्त्री वा पार्टी केन्द्रका कुनै सदस्यका विरुद्ध व्यक्तिगत आरोप लगाउने र त्यसबारे छलफल चलाउने पनि अधिकार दिइएको थियो । केन्द्रीय समितिको चुनावको सिलसिलामा केन्द्रले प्रस्तुत गरेको प्यानल बाहेक अन्य उम्मेदवारहरू खडा हुने अवसर पनि दिइएको थियो, यद्यपि केन्द्रीय समितिको लागि प्रस्तुत प्यानल बाहेक अरू पनि कोही उम्मेदवार नबनेकाले सर्वसहमतीले नै केन्द्रीय समितिको निर्वाचन भएको थियो । त्यसरी अत्यन्त सौहार्दपूर्ण वातावरणमा महाधिवेशनको समापन भएको थियो । ती तथ्यहरूको तोडमोड गरेर महाधिवेशनमा जनवादको हनन् भएको थियो भन्ने आक्षेप कति निराधार छ ? स्वतः स्पष्ट छ ।

४. महाधिवेशनभन्दा पहिले बहुमतको पक्षमा वातावरण तयार पार्नको लागि कैयौँ केन्द्रीय सदस्यहरूमाथि कारवाही गरियो वा जिल्लाहरूमा पनि फडानीको काम गरियो भन्ने आक्षेप पनि निकै लगाउने गरिएको छ । त्यस सिलसिलामा कतिपय व्यक्तिहरूको नामको सूची समेत प्रस्तुत गर्ने गरिएको छ । त्यस सन्दर्भमा सर्वप्रथम हामीले के स्पष्ट गर्न चाहन्छौँ भने हाम्रो पार्टी भूमिगत पार्टी भएको हुनाले हामीले महामन्त्री र केन्द्र, प्रदेश वा जिल्लाका प्रवक्ताहरू बाहेक घोषित रूपमा कसैलाई पनि चिन्दैनाँैं । त्यसैले विभिन्न अनलाइन वा पत्रपत्रिकाहरूमा दिइएका नामहरू असम्बन्धित भएकाले तिनीहरूबारे कुनै चर्चा गर्नुपर्ने आवश्यकता देखिन्न । तर, विषयमाथि प्रकाश हाल्नको लागि पार्टीभित्रको अनुशासनको प्रक्रियाबारे केही चर्चा गर्नु अप्रासाङ्गिक हुने छैन । पार्टीको अनुशासनको आधार जनवादी केन्द्रीयता र छलफलको स्वतन्त्रता तथा कामको एकता हुन् । त्यसअनुसार नै पार्टीका विधान वा नियमहरू बनेका हुन्छन् । त्यसप्रकारका विधान वा नियमहरूको उल्लङ्घन गर्ने पार्टी सदस्य, त्यो जतिसुकै माथिल्लो तहको भए पनि, अनुशासनका कारवाहीहरू हुने गर्दछन् । त्यसअनुसार पार्टीको अनुशासनको उलङ्घन गर्ने पार्टीका केन्द्रीय समितिदेखि तल्लो तहसम्मका कैयौँ सदस्यहरूमाथि पार्टीको विधान र नियमअनुसार कारवाही हुने गरेको छ । यो नियमित रूपले चल्ने प्रक्रिया हो र महाधिवेशनको तयारीको कालमा पनि पार्टी अनुशासनको उलङ्घन गर्ने पार्टी सदस्यहरूमाथि त्यसप्रकारका कतिपय कारवाहीहरू हुने गरेका छन् । त्यसरी कारवाही गर्दा विचार वा मतलाई आधार बनाउने गरिएको छैन । त्यो कुरा बहुमत पक्षका पनि उच्चतहका कतिपय नेताहरूमाथि त्यसप्रकारको कारवाही गरिएको कुराबाट प्रष्ट हुन्छ ।

५. नातावादको आक्षेप
महामन्त्रीले नातावादलाई प्रश्रय दिएको भन्ने आक्षेप पनि निकै लगाउने गरिएको छ । सर्वप्रथमत नातावादको अवधारणाबारे पनि केही स्पष्टताको आवश्यकता छ । कुनै व्यक्ति पार्टीमा लागेपछि वा पार्टीको कुनै उच्च कमिटीमा पुगेपछि उसका नाता पर्ने व्यक्तिहरू, पत्नी, छोरा, ज्वाई, सम्धी, ससुरा, मामा, भान्जा, बहिनी, छोरी, फुपु, दाजुभाइ आदिलाई पार्टीमा ल्याउन मिल्छ वा मिल्दैन ? त्यसबारे केही विचार गर्नुपर्ने आवश्यकता छ । यदि नातावादको विचारलाई अमूर्त प्रकारले लिने हो भने पार्टीको कुनै उच्च कमिटीमा भएको व्यक्तिका नाता पर्ने व्यक्तिहरू पार्टीमा प्रवेश गर्दछन् भने त्यो नातावाद हुनेछ । त्यसप्रकारको नातावादलाई रोक्नको लागि पार्टीमा पहिले प्रवेश गर्ने वा कुनै उच्च पदमा पुग्ने व्यक्तिका नाता पर्ने सबै व्यक्तिहरूलाई पार्टीमा प्रवेश गर्न प्रतिबन्ध लगाउनु पर्नेछ । तर, अहिलेसम्म अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा र नेपालमा पनि पार्टीको विधानमा त्यसप्रकारको कुनै नियम बनेको छैन र त्यसप्रकारको नातावादलाई रोक्न कुनै नियम बनाउनपर्छ भनेर अहिलेसम्म पार्टीको कुनै कमिटी, भेला, सम्मेलन वा महाधिवेशनमा पनि कुनै प्रस्ताव ल्याइएको छैन ।
वास्तवमा भन्ने हो भने महामन्त्रीका नाता पर्ने एकाध व्यक्तिहरू पार्टीमा होलान्, तर अरू कैयौँँ केन्द्रीय नेताहरूका नाता पर्ने थुप्रै व्यक्तिहरू पार्टीका विभिन्न उच्च कमिटी वा पार्टी र जनवर्गीय सङ्गठनहरूका विभिन्न उच्च पदहरूमा पनि हुन सक्दछन् । के पार्टीमा एउटा शुद्धिकरण कार्यक्रम सञ्चालन गरेर पार्टीका त्यसरी नाता पर्ने सबै व्यक्तिहरूलाई पार्टीबाट हटाउन सम्भव हुन सक्दछ वा के त्यसो गर्नु उचित हुनेछ ? यदि त्यसो नगर्ने हो भने पार्टीका कुनै उच्च नेताको नाता पर्ने व्यक्तिहरूलाई पार्टीमा प्रवेशको लागि द्वार खुला भइरहने छ र त्यसरी पार्टीमा नातावादलाई लगातार प्रश्रय मिलिरहने छ ।
यदि पार्टीमा नाता पर्ने व्यक्तिहरूको प्रवेशमाथि रोक लगाउने कुनै नियम बन्दैन भने महामन्त्रीको नजिकको नाता पर्ने व्यक्तिहरू पनि पार्टीमा आउँछन् भने तिनीहरूलाई रोक्नको लागि कुनै आधार छैन । सबै नाताहरू जन्मकालदेखि नै बनेर आएका हुँदैनन् । कतिपय नाताहरू, जस्तै कि पति र पत्नीको नाता,पछि बन्ने गर्दछन् । त्यसरी कुनै पति वा पत्नी दुवैले पहिलेदेखि नै पार्टीमा काम गर्दै आएका छन् भने उनीहरूको विवाह भएर नाता जोडिएपछि के उनीहरू मध्ये कसैले पार्टीबाट अलग हुन आवश्यक हुन्छ वा उनीहरू दुवैले साथसाथै पार्टीमा काम गरे भने के त्यसलाई नातावाद भनेर आक्षेप लगाउनु सही हुन्छ ? कतिपय विभिन्न नाता पर्ने व्यक्तिहरूले पार्टीमा काम गर्दै आएपछि उनीहरू विभिन्न पदमा चुनिन सक्दछन् वा उनीहरूलाई बेग्लाबेग्लै जिम्मेवारी पनि दिन सकिन्छ । त्यो अवस्थामा आपसमा नाता पर्ने भएको हुनाले त्यस्तो नाता पर्ने कुनै व्यक्तिलाई पार्टीको कुनै पदमा नराख्ने वा कुनै जिम्मेवारी नदिने भन्ने नियम बनाउन सकिन्छ ?
रूसमा लेनिनका साथै क्रूप्सकाया पनि पार्टीको केन्द्रीय कमिटीमा थिइन् रपछि रूसमा क्रान्ति भएपछि उनले विभिन्न मन्त्रालयको काम पनि सम्हालेकी थिइन् । चीनमा माओका साथै चियाङचिङ पनि पार्टीको नेतृत्वमा थिइन् र उनलाई पार्टीका कैयौँ महत्वपूर्ण जिम्मेवारीहरू दिइएको थियो । के त्यो कारणले लेनिन वा माओमाथि नातावादको आरोप लगाउनु ठीक हुनेछ ? भारतको कम्युनिस्ट पार्टीमा पनि कतिपय पति र पत्नी साथसाथै पार्टीको पीवीमा भएका र केरलमा पार्टी सरकारमा जाँदा पति र पत्नी दुवै जना साथसाथै मन्त्रीहरू भएका उदाहरणहरू पनि पाइन्छन् । के यी सबैलाई नातावाद भनेर विरोध गर्न मिल्दछ ?
वास्तविकता ता यो हो कि पार्टीका कुनै सदस्यले आफ्ना नाता पर्ने व्यक्तिहरूलाई पनि बढीभन्दा बढी सङ्ख्यामा पार्टीमा ल्याउन वा पार्टीकरण गर्न प्रयत्न गर्नुपर्दछ । नातावादको आलोचना वा आक्षेप जुन रूपमा अगाडि आउने गरेको छ। यदि त्यही कसीलाई आधार बनाएर सोच्ने हो भने कुनै पार्टी सदस्यले आफ्ना पत्नी, छोराछोरी वा आफ्नो नजिकका कुनै पनि नाता पर्ने व्यक्तिहरूलाई पार्टीमा आउन नदिन र उनीहरूलाई पूरै नै घरगृहस्थी वा कुनै नोकरी वा पेशामा लगाउन नै बल गर्नुपर्ने छ । पार्टीका कतिपय साथीहरूकले चाहेर वा नचाहेर उनीहरूका नजिकका नाता पर्ने व्यक्तिहरूले पार्टीमा कुनै सम्बन्ध राख्दैनन् र आफ्नो घरगृहस्थी वा व्यक्तिगत पेशामा लाग्ने गर्दछन् । उनीहरू पार्टीमा आउँदैनन् र, त्यसकारण, उनीहरूका विषयमा कुनै विवाद पनि हुन्न र उनीहरूबारे नातावादको आक्षेप पनि लाग्दैन । के त्यसप्रकारको अभ्यास नै सही हो र हामीले त्यसप्रकारको पद्धतिलाई नै अपनाउनु सही हुने छ ? निश्चय नै त्यो कुरालाई सही भन्न सकिन्न ।
त्यसप्रकारको पृष्ठभूमिमा अहिले पार्टीमा महामन्त्रीले नातावादलाई प्रश्रय दिएको भनेर जुन आलोचना वा आक्षेप लगाउने गरिएको छ, त्यसप्रकारको सोचाइ माक्र्सवादी–लेनिनवादी सिद्धान्त र अन्तर्राष्ट्रिय रूपमा र स्वयं हाम्रो पार्टीभित्रको प्रचलन र अभ्यासका पनि कति विरुद्ध छ ? बुझ्न गाह्रो पर्दैन । वास्तवमा त्यसप्रकारको सोचाइ कुनै सिद्धान्तमाथि आधारित नभएर विशुद्ध द्वेषपूर्ण पूर्वाग्रहयुक्त भएको कुरा पनि प्रष्ट छ । निश्चय नै, त्यसको अर्थ नातावादको अवधारणा र त्यससम्बन्धी आक्षेप जुनसुकै अवस्थामा पनि गलत हुन्छ भन्ने होइन । पार्टीमा कुनै व्यक्तिको आफ्नो पृष्ठभूमि वा क्षमता बिना खालि नाता परेको कारणले नै कसैलाई उच्च पदमा राखिन्छ वा कुनै उच्च जिम्मेवारी दिइन्छ भने त्यो नातावाद हो र त्यसलाई सही भन्न सकिन्न ।
आठौँ महाधिवेशनको सन्दर्भमा अरू पनि कैयौँ आक्षेपहरू लगाउने वा भ्रमहरू फैलाउने काम गरिएको छ । तर, त्यसप्रकारका आक्षेपहरू सिद्धान्तहीन, अराजनीतिक वा व्यक्तिगत चरित्रहत्या प्रकारका नै बढी छन् । त्यसकारण हामी तिनीहरूको चर्चा गर्नपट्टि लाग्दैनौँ ।
२०७६ असार ३०

    Comment Here!


सम्बन्धित समाचार

View All