ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्बन्ध विच्छेदको निहुँमा दुई परिवार सखाप


एबीसी न्यूज

काठमाडौं, ८ जेठ । श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ । सम्बन्धविच्छेदको निहुँमा पाँचथरको मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र धनराज शेर्माको परिवारका नौ जनाको गत राति वीभत्स हत्या भएको प्रहरीले स्थलगत अध्ययनपछि जनाएको होे । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले सङ्घीय प्रहरी एकाइ धरानको टोलीसमेतको प्रारम्भिक अनुसन्धानबाट माखिमले नौ जनाकै हत्या गरेको देखिएको बताउनुभयो । गत राति फियाक र शेर्माको घरमा रहेका नौ जनाको वीभत्स हत्या भएको थियो ।

स्थानीयका अनुसार फियाक र शेर्माका परिवार आर्थिकरुपमा निम्न स्तरको रहेकाले परिवारका सदस्यहरुको रिसइबीका कारणले मात्रै घटना भएको हुनसक्ने स्थानीयको भनाइ छ । स्थानीय शिक्षक गणेशप्रसाद लुइँटेलले भन्नुभयो, “आफ्नो मेसो गर्ने यो निर्धो परिवारमाथि अरु कसले किन हमला गर्छ ? हामी अरुले आक्रमण गर्ने कुरा सोच्नसमेत सक्दैनौँ ।” लुइँटेलका अनुसार मृतक शेर्माले आफ्नो साढु भाइ (सालीको श्रीमान्)बाट आफूहरुमा मनमुटाव रहेको बताएका थिए । “हामी असुरक्षित हुनसक्छौँ भनेर धनराजले मलाई हिजो मात्रै भनेका थिए”, लुइँटेलले भन्नुभयो “आज यस्तो आपत आइ लाग्यो ।”

सम्बन्धविच्छेदले उब्जाएको द्वन्द्व

बमबहादुर फियाककी कान्छी छोरी मनकुमारीको पाँच वर्षअघि मानबहादुर माखिमसँग राजीखुशी विवाह भएको थियो । उनीहरुबाट जुम्लाहा बच्चा भए पनि शिशु अवस्थामै मरेका थिए । यसपछि मनकुमार माइतीमै बस्न थालिन् । मनकुमारीले मानबहादुर आफूसँग सम्बन्धविच्छेद गर्न दबाब दिँदै आएकी थिइन् ।

मृतक मनकुमारीका जेठा भिनाजु रणबहादुर लिम्बूले भन्नुभयो, “सालीले सम्बन्धविच्छेद गर्न चाहने, साढु भाइले नमान्ने । यही कारण द्वन्द्व उब्जिएको थियो ।” वडाध्यक्ष हस्तराज फियाकका अनुसार उनीहरुबीच हालैमात्र सम्बन्धबिच्छेदको प्रक्रिया अघि बढेको थियो । “मानबहादुरले सम्बन्धविच्छेद गर्न चाहेको थिएनन् तर पनि उनी केही साताअघि सम्बन्धविच्छेदका लागि तयार भएका थिए”, वडाध्यक्ष फियाकले भन्नुभयो, “यो अकल्पनीय घटना सम्बन्धविच्छेद स्वीकारोक्तिको परिणाम हो । हाम्रो सिङ्गो गाउँ आँशुमा डुबेको छ ।” वडाध्यक्ष फियाकका अनुसार मानबहादुर तीन वर्षदेखि माइतीमा रहेकी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न नमान्नुको कारण आश्चर्यजनक छ । “यता नआए पनि एकोहोरो भएका छन् भन्ने सुनेका थियौँ”, वडाध्यक्ष फियाकले भन्नुभयो, “पछिल्लो पटक उनी लुकिछिपी यहाँ हिँड्ने गरेको सुनिएको थियो ।”

आत्महत्याले दिएको सन्देश

पाँचथर प्रहरीका अनुसार मानबहादुर माखिम आफ्नो घरभन्दा करीब डेढ किलोमिटर तल मलेदोको रुखमा झुण्डिएको अवस्थामा आज दिउँसो फेला परेका थिए । उनको साथबाट रगत पोतिएको खुकुरी, केही कपडा र झोला फेला परेको थियो । उनको शव फेला परेपछि नौ जनाको सामूहिक हत्यामा मानबहादुरको संलग्नता रहेको पुष्टि भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । “तर, उसले एक्लै सबैमाथि खुकुरी हान्यो वा उसलाई सघाउने कोही थियो, त्यो खुल्न बाँकी छ”, पौडेलले भन्नुभयो, “अनुसन्धानबाट यो कुरासमेत खुल्ला ।”

नुनमा सिसाको टुक्रा हालेर मार्ने प्रयास

अघिल्लो आइतबार धनराज शेर्माको भान्साघरको नुनमा सिसाका टुक्रा मिसिएको पाइएको थियो । यस क्रममा धनराजका दुई छोरीसहित केही स्थानीय महिला घाइते भएका थिए । लघु उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत धनराजको श्रीमती जस्मिता शेर्मा प्रशिक्षक थइन् । उनैले आफ्नो घरमा नास्ता बनाई प्रशिक्षार्थीलाई खुवाउथिइन् । शिक्षक लुइँटेलका अनुसार सिसाका टुक्रा भेटिएको कुरालाई धनराजले प्रहरीसम्म पु¥याएनन् । बिरामीहरु हालैमात्र फिदिमस्थित समर्पित अस्पतालमा उपचार गरी फर्किएका थिए । “सिसाका टुक्रा लगाएर धनराजको पूरै परिवार मार्ने योजना थियो कसैको”, स्थानीय हरेन्द्र फियाकले भन्नुभयो, “त्यो सम्भव नभएपछि सामूहिक हत्या भएको हुनसक्छ ।”

एकान्तमा घर, कसैले जानकारी पाएन

धनराजको घरमा जस्मिताको उपचारका लागि धामी राखिएको थियो । धामीलाई धनराजले आफ्नै घरमा बस्ने जिद्दी गरे पनि धामीले मानेनन् । एकान्तमा रहेका दुवै घरमा एक–एक जनामात्रै पुरुष सदस्य थिए । धनराजको घरभन्दा माथि वडा कार्यालय तथा एउटा घर छ तर धनराजको कच्ची घर तल्लोपट्टि फर्किएका कारण घटना स्थानीयले राति जानकारीसमेत पाएनन् । बमबहादुरको घरको छेउमा दुई वटा घर रहे पनि एउटामा एक वृद्ध महिला र अर्कोमा एक युवतीमात्रै बस्दथे । प्रहरी अनुसन्धानले पनि एकान्तको मौकामा सबैमाथि खुकुरी प्रहार भएको देखाएको प्रहरी निरीक्षक पौडेलले उल्लेख गर्नुभयो ।

वीभत्स हत्याले शोकमग्न गाउँ

बमबहादुरसहित उनकी श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमार फियाक (माखिम) र बमबहादुरकी साइली छोरीकी छोरी आसिका खजुम, बमबहादुरको घरमा हत्या भएको थियो । यस्तै बमबहादुरका जेठा ज्वाइँ धनराजसहित उनकी श्रीमती अस्मिता फियाक (शेर्मा), उनीहरुका दुई छोरी युहाना र मुना शेर्मा तथा धनराजका भाइकी छोरी इक्सा शेर्माको धनराजको घरमा वीभत्स हत्या भएको थियो । घटनामा आशिकाकी दिदी सीता भने भागेर बाँच्न सफल भएकी छन् । उनको झापामा उपचार भइरहेको छ । हत्यापछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । घटनास्थलमा गाउँ–गाउँबाट सयौँको सङ्ख्यामा स्थानीयवासी भेला भएका थिए । “हामीले सोच्नसमेत सकेका छैनौँ यहाँ के भइरहेको छ भनेर”, मिक्लाजुङ गाउँपालिकाका उपप्रमुख उर्मिला राईले भन्नुभयो, “यो घटनाको जति निन्दा गरे पनि पुग्दैन् ।” शोकमग्न स्थानीय भावुक र त्रसित देखिन्थे । बमबहादुरको घर वरिपरि सयौँको भीड लागेको थियो ।

शव उठाई धरान पठाइयो

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीको अनुसन्धानपछि नौवटै शवको मुचुल्का उठाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । “साँझ मुचुल्का बनाई सकिएको छ”, प्रजिअ वस्तीले भन्नुभयो, “भोलिबाट थप अनुसन्धान र शव परीक्षणको काम अघि बढाउन निर्देशन दिएको छु ।” घटनाको अनुसन्धानका लागि तालीमप्राप्त कुकुरसहित सङ्घीय प्रहरी एकाइ धरानबाट प्रहरी वरिष्ठ उपरीक्षक शरद खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com