
काठमाडौं,२६ पुस । सरकारले वाईडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई तत्काल कार्वाही नगर्ने स्पष्ट पारेको छ ।
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले वाईडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका मन्त्री तथा कर्मचारीहरुलाई तत्काल कार्वाही नगर्ने बताउनु भएको हो ।
उहाँले सरकारले गठन गरेको छानवीन आयोगको प्रतिवेदन आएपछि मात्रै सो प्रकरणमा दोषी देखिएकाहरुमाथि कार्वाही हुने पनि स्पष्ट पार्नु भयो ।
विहीबार मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको निर्णयको हेक्का राखेरै सरकारले सो प्रकरणका सम्बन्धमा छानवीन गर्न आयोग नै गठन गरेको पनि स्पष्ट पार्नु भयो ।
यथार्थ विवरण नआई वाइडबडी विमान खरिद प्रकरणमा दोषी देखिएकामाथि कार्वाही गर्न हतारो हुने संचारमन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले सरकार सो प्रकरणको ढाकछोप गर्न नलागेको पनि पटक–पटक दोहो¥याउनु भयो ।
संघीय संसदको सार्वजनिक लेखा समितिले वाईडबडी विमान खरिदमा मुख्य दोषी देखिएको भन्दै नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न र बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको पनि संलग्नता रहेको भन्दै कानुनी कार्वाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
मन्त्री बास्कोटाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग बमोजिमनै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको दावी पनि गर्नु भयो ।
उहाँले वरिष्ठ चिकित्सक केसीको १६ औं आमरण अनसन बुझि नसक्नु भएको प्रतिक्रिया दिँदै सो सम्बन्धमा बुझ्न पनि संचारकर्मीहरुलाई आग्रह गर्नु भयो ।
वरिष्ठ चिकित्सक केसीले आफूसँग गरिएको सहमति विपरित संसदीय समितिले सो विधेयक पारित गरेको भन्दै १६ औं पटक इलाममा पुगेर आमरण अनसन सुरु गर्नु भएको छ ।







प्रतिक्रिया दिनुहोस्