काठमाडौं, २ भदौं । करोडौं घोटालाको आरोपममा बर्खास्तीमा परेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सामान्य इन्जिनियर हुँदै करोडौं घोटालाको नाइके समेत भए । गोपालबहादुर खड्का सिन्धुलीको खाङसाङ सोल्पामा जन्मिएका हुन । हाल उनी घट्टकुलो काठमाडौंका स्थायी वासिन्दा हुन । भारतबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरेका खड्काले पोखरा विश्वविद्यालयबाट कन्स्ट्रक्सन मेनेजमेन्टमा स्नातकोत्तर गरेका छन् । खड्काले विक्रम संवत् २०४७ बाट सडक विभागमा इञ्जिनियरको रुपमा जागिर सुरु गरेका हुन । उनले २०६१ सालसम्म इञ्जिनियरकै रुपमा सडक डिभिजनमा काम गरेका थिए । त्यसपछि उनले २०६७ साल देखी २०७० सालसम्म सडक डिभिजन कार्यालय काडमाडौको प्रमुखको रुपमा काम गरे ।
सडक डिभिजन कार्यालय काठमाडौंमा काम गर्दासम्म गोपालबहादुर खड्काको छवि राम्रै थियो । उनीसँगै काम गरेकाहरु समेत डिभिजन प्रमुख हुँदासम्म उनले राम्रो कार्यसम्पादन गर्ने गरेको बताउँछन् । उनी २०७१ माघ १४ गते नेपाल आयल निगमको प्रमुख नियुक्त भएका हुन । आयल निगमको प्रमुख नियुक्त भएपछि गोपालबहादुर खड्का सबैभन्दा भ्रष्टको रुपमा परिणत भए ।
लोकमानसँगको सम्बन्धले निगम प्रमुख
बर्खास्तमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की र गोपालबहादुर खड्काबीच ज्वाई जेठानको सम्बन्ध छ । पारिवारिक सम्बन्ध जोडिएकाले लोकमान र गोपालबहादुर नजिक हुने स्वाभाविक थियो । सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा आपूर्ति मन्त्री भएका बेला गोपालबहादुर खड्का आयल निगमको प्रमुख बनाइए । आयल निगम छिरेपछि गोपालबहादुर पनि लोकमान जस्तै भ्रष्ट बने । लोकमानकै आडमा गोपालबहादुरले संसदको निर्देशन पनि अवज्ञा गर्दै नाकावन्दीका बेला बिराटनगरको विराट आयललाई पेट्रोल आयात गर्ने अनुमति मात्र दिएनन्, तेल ल्याएर महंगो मूल्यमा कालोबजारी गर्ने छुट दिए । यससँगै बढेको उनको उन्माद आयल निगमका लागि जग्गा खरिद प्रकरणमा छताछुल्ल भएको छ ।
अख्तियारमा गोपालबहादुरको दादागिरि
जुन बेला लोकमानसिंह कार्की अख्तियार प्रमुख थिए त्यसै बेला गोपालबहादुर खड्का आयल निगमको प्रमुख बनिसकेका थिए । भारतले नाकाबन्दी गरेको बेला खड्काले लोकमानकै बलमा इन्धन बितरणमा लाखौं घोटाला गर्न भ्याए । जुन समय खड्काले इन्धन वितरणको क्रममा घोटाला गरेको भन्दै अख्तियारले अनुसन्धान सुरु गरेको थियो । त्यो समय खड्का दर्जनौ पटक अख्तियार पुगेका थिए । खड्काले अख्तियार पुगेर लोकमानकै बलमा मलाई अनुसन्धान गर्ने तिमी को हौ भन्दै आयुक्त र अनुसन्धान अधिकृतहरुलाई थर्काएको बिषय पहिले नै सार्वजनिक भइसकेको छ ।
लोकमानकै बलमा मनपरी कर्मचारी बढुवा
लोकमानको साथ पाएपछि आफुलाई शक्तिशाली महसुस गरेका गोपालबहादुर खड्काले नियमविपरीत कर्मचारी बढुवा समेत गर्न भ्याए । लोकमान शक्तिमै रहेको बेला उनले, लोकसेवा आयोगको मापदण्डविपरीत र निगम सञ्चालक समितिलाई थाहै नदिई १४ जना कर्मचारीको बढुवा गरेका थिए । लोकमान र आफ्नो पक्षमा रहेकालाई उनले बढुवा गरेका थिए । कर्मचारी बढुवा गर्नुभन्दा अगाडी खड्कालाई लोकसेवा आयोग र अख्तियारले मापदण्ड बनाएर मात्र कर्मचारीको बढुवा गर्न निर्देशन दिएको थियो । तर, खड्काले लोकमानकै बलमा बिना मापदण्ड कर्मचारीको बढुवा गरिदिए ।
केही सम अगाडीसम्म गोपालबहादुर खड्का कुनै पनि पक्षबाट घोटाला नभएको भनिरहेका थिए । तर, उनको त्यो दावी अब गलत सावित भइसकेको छ । अब लामो समयको उनको दादागिरी अन्त्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्