काठमाडौं,१८ कात्तिक । पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको उपचारको क्रममा आइतबार दिउसो नर्भिक अस्पतालमा निधन भएको हो ।
रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएपछि उनलाई केही दिन अघि अस्पताल पुराइएको थियो ।
माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो।
तुलाधरले आफैं २०४३ सालको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक भाग लिएका थिए । त्यो बेला उनले पञ्चायत सरकारका गृहमन्त्रीसमेत रहेका जोगमेहर श्रेष्ठलाई हराएका थिए ।
सूर्य चिन्ह लिएर राष्ट्रिय पञ्चायतमा उठेका तुलाधरलाई कम्युनिष्ट पार्टीहरूको समर्थन थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयो । त्यसपछिको आम चुनावमा तुलाधर स्वतन्त्र उम्मेद्वारका रूपमा काठमाडौं उठेका थिए ।
त्यसबेला कांग्रेस नेतृ मंगलादेवी सिंहलाई तुलाधरले हराएका थिए । बहुदलकालमा तुलाधर मानवअधिकारवादी र २०६२ र ६३ को आन्दोलनताका नागरिक समाजको अगुवाका रूपमा परिचित थिए ।
प्रतिक्रिया दिनुहोस्