काठमाडौं, १७ कार्तिक । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको शुक्रबार सय दिन पुरा भएको छ । तर निर्मलाका अविभावक अझै पनि न्यायका निम्ति भौतारिइ रहेका छन । एसियामै उत्कृष्ट मानिएको नेपाल प्रहरी निर्मला प्रकरणमा उपलब्धि विहिन भएको छ भने प्रहरी आफै यसमा मुछिएको छ ।
नागरिक समाजबाट प्रहरी र सरकारको मात्र आलोचना नभइ राज्य व्यवस्थाप्रति असन्तुष्ट जाहेर भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एकसय दिन पूरा भयो । गत साउन १० गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला पन्त कहिल्यै घर फर्किनन् । पन्तको बलात्कार पछि हत्या भयो । शव भोलिपल्ट उखुबारीमा भेटियो । त्यसपश्चात निर्मलालाई न्यायका लागि भन्दै देशव्यापी आन्दोलन चल्यो । यो आन्दोलन अझै जारी छ । घटनाको छानवीनका लागि विभिन्न समितिहरु बने । जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरिए । सीआईबी, गृहमन्त्रालयको टोली अनुसन्धानका लागि भन्दै कञ्चनपुर पुग्यो । समिति माथि समिति बने । कञ्चनपुरका तत्कालिन एसपी बर्खास्तीमा परे । तर, अझै पनि वास्तविक हत्यारा को हो भन्ने पत्ता लाग्न सकेको छैन ।
सरकारसंग अझै पनि फुस्रो गफ मात्र छ, सरकार आश्वासन मै सीमित छ । नागरिक समाज मात्र होइन सबै सरोकारवाला निकाय आ–आफ्नै तर्क मात्र गर्छन् । यौनजन्य हिंसा देशैभर बढ्दो छ । दण्डहीनता बढ्दै गएको छ । सरकारले विकास र समृद्धिको चर्र्काे भाषाण गर्नुभन्दा पनि देशमा मौलाइरहेको अपराधिक गतिविधिको सम्बोधन गर्न अपरिहार्य भएको बताउंछन नागरिक अगुवा डाक्टर सुन्दरमणि दीक्षित । वालबालिकाहरुको जीवन र अस्मिताको रक्षाका नागरिक खबरदारी जरुरी रहेको उनको तर्क छ ।
पछिल्लो समय देशमा यौनजन्य हिंसा बढ्दै जानु र भएको घटनाहरुमा पीडितले न्याय नपाउनुको मुख्य समस्या हरेक क्षेत्रमा भएको राजनीतिकरण भएको तर्क गर्छन् संविधानविद् डा.काशीराज दाहाल ।
राज्यको स्पष्ट अवधारणाको अभावमा राष्ट्र आफैले यौनजन्य हिंसा बढाइ रहेको कतिपय मानवअधिकारकर्मीहरुको टिप्पणी छ । देशमा यौनजन्य हिंसा कमि गर्न अन्तराष्ट्रिय मान्यता अनुरुप शिक्षा, स्वास्थ्य र सुरक्षामा सरकारको प्रभावकारि उपस्थिति हुन जरुरी रहेको उनीहरुको तर्क छ ।
यौनजन्य हिंसा स्वाभाविक रुपमा बढ्दै गएको छ । घटेका अधिकांश घटनाहरुमा प्रहरीले सफल अनुसन्धान पनि गरेको छ । तर पछिल्लो समय यौनजन्य हिंसाका घटना आफ्नै परिवारका सदस्यबाट हुने गरेको तथ्याङ प्रहरीसंग रहेको छ ।
निर्मला पन्त एउटा प्रतिविम्वित पात्र मात्र हुन् । पछिल्लो समय बढ्दै गएको यौनहिंसा जस्तो जघन्य अपराधको संख्या प्रत्येक दिन बढ्दै गएको छ । जसको मुख्य पीडित १६ वर्ष मुनिका बालिकाहरु पर्ने गरेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार १८ वर्ष मुनिका ६४ प्रतिशत वालिकाहरु यौन हिंसाको शिकार हुने गरेका छन् ।
सन् २०१३ मा १८ सय उजुरी थियो भने सन् २०१८ मा बृद्धि भइ १२ हजार भन्दा बढि भएको छ । नेपाल प्रहरीको तथ्याङक अनुसार साउनदेखि असोजसम्म मात्र ७ सय बढि महिला तथा बालिका यौन जन्य हिंसाको सिकार बनेका छन् । यस्ता तथ्यांकले सुरक्षित राज्यको परिकल्पनालाई चुनौती दिइरहेका छन् । यसतर्फ सबै पक्ष समयमै गम्भीर हुन जरुरी छ ।
https://www.facebook.com/abctelevision/videos/250835608915525/







प्रतिक्रिया दिनुहोस्