काठमाडौं, २३ असोज । नेकपाका सांसद रामवीर मानन्धरले आफूले प्रतिनिधिसभा सदस्यबाट पार्टीलाई राजीनामा बुझाइसकेको बताएका छन्।
भोलि पार्टीको सचिवालय बैठक बस्दैछ उक्त बैठकले राजीनामा बारे अन्तिम निर्णय लिने भएको हो ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी काठमाडौं ७ बाट विजयी भएका थिए। उनले कांग्रेस र राप्रपाका साझा उम्मेदवार विक्रम थापालाई ८ हजारभन्दा बढी मतले पराजित गरेका थिए।
पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने प्रयास गरेपछि मानन्धरले राजीनामा दिन थालेका हुन्। गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराइरहेका छन्। पार्टीभित्रको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुले भने असहमति राखिरहेका थिए।
गौतमले विभिन्न जिल्लाका सांसदहरुलाई फिर्ता बोलाउन पहल गरिरहेका पनि थिए। तर उनलाई ती सहयोगी भएनन्। अन्तिममा, मानन्धरलाई फिर्ता बोलाएर गौतम भित्र्याउन अर्का अध्यक्ष प्रचण्ड पनि सक्रिय भएपछि नयाँ परिस्थिति सिर्जना भएको हो। प्रचण्डले सोमबारको सचिवालय बैठकमा मानन्धरको लिखित सहमतिपत्र पढेर सुनाएका थिए। उनले गौतमलाई सांसद बनाउने प्रस्ताव पनि राखेका थिए।
राजीनामा दिन सहमति जनाउनुअघि मानन्धरले राष्ट्रियसभा सदस्य र मन्त्री बनाउनुपर्ने सर्त राखेको एक स्रोतले जानकारी दिएको छ ।
मानन्धरले आजै बेलुका ४ बजे पत्रकार सम्मेलन गरेर यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्