काठमाडौं, १८ असोज । दर्जनौं उतारचढाव पार गर्दै वि.सं. २०७४ असोज १७ पहिलो घोषणा गरेका तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वि.सं. २०७५ जेठ ३ गतेको समारोहमार्फत् औपाचारिक रुपमा पार्टी एकता गरे । गत वर्ष असोज १७ गते राष्ट्रिय सभामा भएको पार्टी एकता घोषणा प्रक्रियाको सुरुवाती चरणले धेरै राजनीतिक पण्डितहरु मात्र होइन तत्कालिन एमाले र माओवादी केन्द्रका कैयौं नेता कार्यकर्ताको पनि दिमाग चक्कराएको थियो । धेरैलाई लागेको थियो, कहिल्यै मिल्न नसक्ने राहु र केतु कसरी एक भए ? तर, अन्तर्यमा त्यस्तो भएको थिएन । अन्तर्य त धेरै पहिलेदेखि नै यौटै कम्युनिष्ट पार्टी बनाउने केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हुटहुटी थियो । त्यो हुटहुटीले दुई धु्रवका कम्युनिष्ट धारलाई यौटै मध्यमार्गी धु्रवमा ल्याउन भूमिका खेलेको थियो ।
‘टुटफुट र विभाजनको दुःखदायी शृङ्खलालाई अन्त्य गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) बीच भइरहेको पार्टी एकीकरण नेपाली इतिहासकै दूरगामी र अविस्मरणीय परिघटना हो । पार्टी एकीकरणबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाको दस्तावेजमा लेखिएको छ ।
‘यस एकीकरणले कमरेड पुष्पलाललगायत अग्रजहरुले सुरु गर्नुभएर बीचमा टुट्न पुगेको इतिहासको कडीलाई मात्रै जोडेको छैन, न्यायप्रेमी नेपाली जनताको वर्षौं पुरानो आकाङ्क्षालाई पनि मूर्त रुप दिएको छ । यसले मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई गुणात्मक ढङ्गले नै सकारात्मक बनाएको छ, यसले राष्ट्रियता, लोकतन्त्र, राजनीतिक स्थायित्व र समृद्धिका लागि ठोस योगदान गरेको छ र नेपाललाई एक्काइसौं शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्ने आधार तयार गरेको छ ।’
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रतिबद्धता जाहेर गरेर नेपालको कम्युनिस्ट आन्दोलन मात्र एकीकृत गरेनन कि राजनीतिक कार्यदिशामा बोक्दै आएका पुरातन मान्यतामाथि प्रहार गर्दै नेपाली वस्तुगत राजनीतिक अवस्थाको सही बुझाई प्रस्तुत गरे ।
देशलाई राजनीतिक स्थिरताको बाटोबाट समाजवादी मुलुकमा पु¥याउने यी दुई शिर्ष नेताको उद्घोष नेपालका सबैखाले सशस्त्र विद्रोहको सन्निहित उद्देश्यको गुदी कुरा पनि थियो ।
कम्युनिस्ट आन्दोलनमा देखिएको सशस्त्र विद्रोहप्रतिको चरम उदासीनता र जनयुद्धको नीतिहीनताको अवस्थामा वि.सं. २०४३ तिरबाट विभिन्न तरिकाले कोसिस गर्दै गरे पनि वि.सं. २०५२ बाट तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा योजनाबद्ध रुपले जनयुद्ध सुरु भएको थियो । त्यसअघि नै तत्कालिन नेकपा एमालेका नेताहरुको अगुवाईमा २०२८ सालमा झापा विद्रोह भैसकेको थियो । यी दुवै विद्रोह नेपालको कम्युनिष्ट इतिहासको कहिल्यै नमेटिने तथ्य हो । दुवै सशस्त्र विद्रोहको उद्देश्य दस्तावेजमा जेसुकै लेखिएको भए पनि नेपालको समाज परिवर्तनमा कम्युनिस्टहरुलाई निर्णायक शक्तिमा बदल्ने नै थियो । तर झापा विद्रोहको हतियार बिसाउन धेरै समय नलागे पनि माओवादी विद्रोहको हतियार बिसाउन भने एक दशकभन्दा बढी समय लाग्यो । सो विद्रोहको उद्देश्यको सुरक्षित अवतरण गर्न अर्को एक दशक अलमलिनु प¥यो । अन्त्यमा सबैखाले विद्रोहको अवतरण गर्दै एमाले र माओवादीबीच असोज १७ पार्टी एकताको घोषणा हुनु आफैमा ऐतिहासिक परिघटना थियो ।
नेपालका प्रमुख कम्युनिस्ट घटकको सहकार्यले देशमा ठूल्ठुलो परिवर्तन ल्याएको छ । अकल्पनीय जस्तै मानिएको राजतन्त्रको अन्त्य भएर देशमा गणतन्त्र र सोहीअनुरुप जनताका प्रतिनिधिले नै संविधान बनाउन सफल हुनुमा कम्युनिष्ट पार्टीहरुबीचको सहकार्यले समेत ठूलो काम गरेको थियो । त्यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गरिसकेपछि उपलब्धि संस्थागत गर्न अर्थात् झापा विद्रोहदेखि जनयुद्ध समेतका सबै सशस्त्र विद्रोहको पवित्र उद्देश्यलाई पूरा गर्न विभक्त कम्युनिस्ट पार्टीको एकता अनिवार्य सर्त बन्न पुगेको थियो । बाह्र वर्षे द्वन्द्व र त्यसपछिका बाह्र वर्षको परिस्थिति विल्कुल फरक परिस्थिति भएकै कारण एमाले माओवादी एकता सम्भव भएको हो ।
पार्टी एकताबारे २१ गते विमोचन हुँदै गरेको ऐतिहासिक सन्दर्भहरु संगालिएको पुस्तक अवतरणका लागि एबीसी मिडिया ग्रुपका अध्यक्ष शुभशंकर कँडेलसँग कुरा गर्दै प्रचण्डले भनेका छन्, ‘युद्धलाई शान्तिमा बदल्नु जोखिम र चुनौतीपूर्ण कार्य थियो । मेरा लागि यो अवसर थियो । सम्राट् अशोक पछि बौद्धमार्गी भए । मलाई पनि उनीजस्तै बन्ने अवसर प्राप्त भयो । मेरा लागि यो दुर्लभ अवसर हो । मसँग अरू विकल्प पनि थिएन । मैले हतियार र लडाकू व्यवस्थापनको जोखिम लिएँ, जसका कारण पार्टी फुट्यो, हामी तेस्रो भयौँ । यसमा मलाई पछुतो छैन । तर फेरि नेपालको कम्युनिस्ट आन्दोलन नै एकीकृत गरेर देशलाई राजनीतिक स्थिरता र समृद्धिको बाटोमा अघि बढाउने तहमा पुगेका छांै । यसमा मलाई गर्व छ’ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यौटै एकीकृत कम्युनिष्ट पार्टी (नेपाल कम्युनिष्ट पार्टीं नेकपा स्थापनाको उद्देश्य पनि पुरा गरेका छन् । यो एकीकृत कम्युनिष्ट पार्टीलाई फेरि पनि टुट फुट र विभाजनबाट जोगाई, गुट र उपगुटहरुबाट जोगाउँदै राष्ट्र निर्माणको बाटोमा अघि बढाउने दायित्व फेरि पनि यी दुई शिर्ष नेताकै टाउकोमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्