
काठमाडौं,२४ साउन । गृहमन्त्री राम बहादुर थापाले निसान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रतिनिधिसभा अन्र्तगत राज्यव्यवस्था तथा सुशासन समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउण्टरबारे सरकारले छानविन गर्ने बताउनुभएको हो ।
बालक अपहरण पछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाईलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउण्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानविनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिवद्धता जनाउनुभएको हो ।
समिति सदस्य देवेन्द्र कंडेलले प्रहरीले भनेको इन्काउण्टर शंकास्पद भएकाले इन्काउण्टरको अवस्था श्रृजना हुनुको कारण बारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गर्नुभयो ।
प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउण्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भईरहेको छ ।







प्रतिक्रिया दिनुहोस्