रामेछाप, २५ असार । गएको प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली कांग्रेसका नेता पूर्णबहादुर लामा (कान्छाराम) रामेछापबासीका लागि सहयोग अभियानमा जुटेका छन् ।
व्यक्तिगत खर्चमा एकैपटक छ वटा एम्बुलेन्स प्रदान गरेर कान्छारामले रामेछापबासीका लागि महत्वपूर्ण गुन लगाएका छन् । शनिवार एक समारोह आयोजना गरी कान्छारामले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

रामेछापका दुर्गम क्षेत्रमा बिरामीलाई सेवा पुर्याउन तामाङले करिब एक करोड निजी खर्चमा एम्बुलेन्स उपलव्ध गराएका हुन् । यसअघि पनि उनले जिल्लाका विभिन्न भागमा तीन वटा एम्बुलेन्स उपलब्ध गराइसकेका थिए ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा तामाङले भने, ‘अझै एउटा शववाहन र तीन वटा एम्बुलेन्स आउँदै छन्, म चाँडै समुदायलाई दिन्छु ।’
निर्वाचनमा पराजय भोगेपनि कान्छारामले रामेछापबासीका लागि सहयोग अभियान जारी राखेका छन् । उनले रामेछापबासीमा परेका हरेक किसिमका अप्ठेरा र पीरमर्कामा विगतदेखि नै साथ दिँदै आएको छ ।







प्रतिक्रिया दिनुहोस्