काठमाडौं, २४ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देउवा सरकारका पालामा राजनीतिक नियुक्ती पाएका १५ जनालाई जिम्मेवारी मुक्त गरेको पत्र थमाएको छ ।
विहीबारको मन्त्रिपरिषद बैठकले २०७४ भदौं १४ देखि २ फागुनसम्म भएका राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेपछि सञ्चार मन्त्रालयले सो समयमा नियुक्ती पाएका १५ जनालाई नियुक्ति बदरको पत्र बुझाएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।
पत्र पाउनेमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, सदस्य हेमकुमार श्रेष्ठ, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्याय, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्य गोविन्दबहादुर कोइराला र विमला भण्डारी छन् ।
यस्तै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सदस्य विजय देउजा, सेन्सर बोर्डका उमेश खड्का, देवीराम पराजुलीको नियुक्त पनि बदर भएको छ ।
त्यसैगरी, नेपाल टेलिभिजनका सल्लाहकार किरण चित्रकार, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य एकराज पाठक, नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य गोविन्द धिताललाई नियुक्ती बदरकोपत्र थमाइएको छ ।
उता नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले शेरबहादुर देउवा नेतृत्वको सरकारले सञ्चार क्षेत्रमा गरेका नियुक्ती बदर गर्ने ओली सरकारको निर्णयप्रति विरोध जनाएको छ ।
युनियनले देउवा नेतृत्वको सरकारले सञ्चार सम्वद्ध संस्थाहरुमा प्रक्रियागत ढंगले नियुक्त भएकाहरुलाई पनि हटाइएको भन्दै आपत्ति जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्