
काठमाडौं, १८ असार। पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले परेको हो ।
पुरिएको जीपको केहीवेर अघि उद्दार गरिएको छ । समयमै उद्दार हुन सक्दा कुनै मानवीय क्षति हुन नपाएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन् ।
‘हामी अगाडि बढ्दै थियौं । माथिबाट माटो खसिरहेको थियो’, जीप चालकको भनाइलार्इ उदृत गर्दै एक उद्दारकर्ताले भने, ‘त्यसैबीच जीप पुरियो ।’
यसैबीच, पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।
स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखण्डमा पर्ने एक दर्जन खहरे खोलामा बाढी आउँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
आज बिहान ठूला गाडी छिटफुटरुपमा सञ्चालन भए पनि दिउँसो भने खोलामा पानीको बहाव बढेपछि बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उता दाङको राप्ती र बबई नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै म्यासेज पनि पठाएको छ ।
दाङमा आइतबारदेखि आएको अविरल वर्षा अहिले पनि जारी छ । विद्युत् र इन्टरनेट सेवा पनि नियमित हुन सकेको छैन ।







प्रतिक्रिया दिनुहोस्