काठमाडौं, १६ असार । सरकारले म्यानपावर कम्पनीका ३ सय ८९ जना प्रतिनिधि एजेन्टको लाइसेन्स खारेजी गरेको छ। म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागसँग अनुमति लिएर नियुक्त गरेका ३ सय ८९ जना प्रतिनिधि एजेन्टको लाइसेन्स खारेज गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
दुई वर्षअघि म्यानपावर कम्पनीले आफ्ना प्रतिनिधि एजेन्ट हटाउन विभागमा पत्राचार गरेका थिए। म्यानपावरले माग गरेपनि विभागले प्रतिनिधि एजेन्ट हटाएको थिएन। म्यानपावरले माग गरेको दुई वर्षपछि उनीहरुका प्रतिनिधि एजेन्ट पूर्णरुपमा हटाइएको विभागले जानकारी दिएको छ।
विभागले लाइसेन्स खारेज गरेका एजेन्टमार्फत म्यानपावर कम्पनीले कामदार रोजगारीमा पठाएको पाएमा त्यस्ता कम्पनीलाई कानुनी कारबाही गरिने प्रष्ट पारेको छ। म्यानपावर कम्पनी कै मागअनुसार विभागले प्रतिनिधि एजेन्टको लाइसेन्स खारेज गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवराज रिजालले बताए। विभागले खारेज गरेका एजेन्टसँग काम गर्ने म्यानपावर कम्पनीलाई पनि कारबाही गरिने रिजालको भनाइ छ।
म्यानपावर व्यवसायीको सिफारिसमा २ लाख रुपैयाँ धरौटी राखेर विभागबाट एजेन्टको लाइसेन्स लिने व्यवस्था छ। हाल नेपालमा वैधानिक रुपमा लाइसेन्स लिएका एजेन्टको संख्या ८ सयको हाराहारी मात्र रहेको विभागले जनाएको छ।
म्यानपावर कम्पनीका ३ सय ८९ जना एजेन्टको लाइसेन्स खारेजी (नामावलीसहित)







प्रतिक्रिया दिनुहोस्