
बेइजिङ, ६ असार । छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको टोलिले आज पत्रकार सम्मेलन गरेको छ ।
बेइजिङस्थित ग्रेट हल अफ पिपलमा दुई देशका उच्च स्तरिय वार्ता बारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो ।
पत्रकार सम्मेलनमा उहाँहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले जानकारी दिनुभयो ।
औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरी नेपाल भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको छ ।
बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उहाँहरुबीच भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीले नेपाल भ्रमणका लागि गर्नुभएको निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो । राष्ट्रपति भण्डारीको निमन्त्रणापत्र स्वीकार गर्दै चिनियाँ राष्ट्रपति सी ले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा छुट्टाछुट्टै भेटवार्ता भएको थियो । यस्तै प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता ४५ मिनेट भएको थियो ।
सो अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञावलीले बताउनुभयो ।
नेपालको विकास र समृद्धिमा चीनका तर्फबाट सहयोग उपलब्ध हुने बताउँदै उहाँले दुई देशबीचको सम्बन्धलाई नयाँ आधारमा अगाडि बढाउन आफूहरु तयार रहेको धारणा व्यक्त गरेको र राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै उहाँले चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओली आज बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा सहभागी हुनुभयो ।
उहाँले आजै नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गर्नुभयो भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा पनि सहभागी हुनुभएको थियो ।
चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गर्नुभएको थियो । आजै उहाँले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गर्नुभयो भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्