
पोखरा, २१ जेठ । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गर्नेहरुको दिन समाप्त भएको बताउनुभएको छ ।
पोखरामा सोमबार नेपाल पत्रकार महासँघ प्रदेश नं ४ द्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै संबिधान संशोधनको सम्झौता गरेसँगै संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउएर समाप्त पारेको बताउनुभएको हो ।
उहाले फोरम सरकारमा आएसँगै दुईतिहाई बहुमत पुगेको बताउनुहुदै केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो खुलेको बताउनुभयो । दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरुको स्थिति भन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थीर बनाउने कसैले सपना देखेको कारण त्यसको ढोका बन्द गरिएको बताउनुभयो ।
उहाले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे छलफल भएको समेत बताउनुभयो । नेपालको निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै अध्यक्ष प्रचण्डले कमखर्चिलो र सवसाधारणले पनि निर्वाचन लड्न सक्ने खालको निर्वाचन प्रणाली अपनाउनु पर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले एमाले–माओवादीको पार्टी एकताले अन्तराष्ट्रिय हिसावमै धरापमा परेको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभयो ।
उहाले विश्वबाटै हराउन लागेको कम्युनिष्ट आन्दोलनलाई नेपालको पार्टी एकीकरणले नयाँ उमंग संचार भएको बताउनुभयो ।
‘अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन धरापमा परेको अवस्थामा नेपालमा एकीकरण हुदाँ फरक तरगं पैदा भएको छ । यसले देशभित्र र बाहिर सबैतिरबाट भिन्न अपेक्षा छ, उहाले भन्नुभयो –हाम्रो एकीकरणले कम्युनिष्ट आन्दोलनको भविष्य उज्वल छ भन्ने सन्देश नेपालबाट गएको छ ।’ उहाले अबका दिनमा राजनैतिक कारणले विकास नरोकिने विस्वास समेत व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्