पाल्पा, १८ जेठ । पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा आज बिहान बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नौ पुरुष र तीन महिला रहेका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जनाकारी दिनुभयो ।
मृत्यु हुनेमा तानसेन ४ का विष्णुमान बर्जचार्य, कृष्णबहादुर बोहरा, तानसेन ३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बर्जचार्य, छत्रमान श्रेष्ठ, गिता बुढाथोकी, तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु मगर, लोकनाथ ढकाल, सञ्चित बर्जचार्य तानसेन २ का बसन्ती खाँड, तानसेन-५ की दुर्गा श्रेष्ठ र कमला कार्की छन् ।
सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु २ ख ९७५ नं को बस हुमिनमा दुर्घटना भएको हो । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस सडकबाट करीब १५० मिटर तल खसेको प्रअ पन्तले जानकारी दिनुभयो । बसमा २७ जना यात्रा गरिरहेका थिए ।
घाइतेमध्ये १० जनाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । गएराति देखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्