काठमाडौं १७ जेठ । संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै नेमकिपाका सांसद प्रेम सुवालले राष्ट्रिय महत्वका आयोजनाहरु नेपाल आफैंले बनाउनु उपयुक्त हुने बताएका छन् । कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने बताएका हुन् ।

उनले प्रदेश तीनको राजधानी मकवानपुरमै बनाउनु पर्ने भन्दै राजधानी राख्ने ठाउँ काठमाडौ उपत्यकामा नभएको बताए । ‘मेलम्चीको पानीले सडक धुने भनेको २९ बर्ष वित्यो । सिंहदरवारको अधिकार गाउँगाउँमा भनियो । तर, कालिकोट सदरमुकामको चामल गाउँमा पुगेन, मुस्ताङको स्याउ काठमाडौ आएन’ उनले व्यवहारमा संघीयता कार्यान्वयन नभएकोमा रोष प्रकट गरे ।
उनले ४८० मेगावाट विद्युत भारतबाट किनेर लोडसेडिङ घटाउनु राष्ट्रवाद नभएको जनाए । त्यस्तै उनले सुन तस्करीमा ‘ठुला माछा र साना माछा’ भनेर आएका जिम्मेवार व्यक्तिको अभिव्यक्तिले ‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइन’ भनेर प्रश्न गरे । उनले रेल र पानी जहाजको ठूलो कुरा होइन, तर बालुवाटरको भ्रष्टचार नियन्त्रण ठूलो कुरा भएको पनि दावी गरे । सांसद सुवालले आफूले दिएका सुझावहरु बजेटमा नपरेकाले नेमकिपाले बजेटप्रति असहमति जनाएको जनाए ।







प्रतिक्रिया दिनुहोस्