
काठमाडौं, १५ जेठ । विभिन्न खेलमा सट्टाबाजी खेलाउने पूर्वराष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरि आज पत्रकार सम्मेलनगरि सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ३५ वर्षीय अञ्जन केसी, २७ वर्षीय गौरव तिवारी, ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, २७ वर्षीय दिनेश बोगटी,३६ वर्षीय विजय श्रेष्ठ, ३१ वर्षीय नरेन्द्र सुवाल रहेका छन्।
उनीहरूबाट आइफोन ८ थान र अन्य मोबाइल एक थान, ल्यापटप १ थान,गौरवबाट २ लाख, चेकबुक भिसा कार्ड लगायतका सामग्रीहरू बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ ।
यस्तो धन्दा थियो उनिहरुको
सुरू सुरूमा नागराज भनिने अमृत अग्रवालसँग मिलि गौरव तिवारीसँग अनलाइन बेटिङ (अनुमान गरेर लगाउने बाजी ) सञ्चालन गरेको थिए। काम गर्ने शिलशिलामा लेनदेनको विवादपछि गौरव आफैंले लण्डनबाट अकाउण्ट खोली अनलाइन बेटिङ सञ्चालन गरे। २४ वटा अकाउण्ट खोलेर अनलाइन बेटिङमार्फत् उनले सात करोड बराबरको कारोबार गरेको भेटिएको छ।
भुपेन्द्र कुँवरले गौरवसँग मिलि अनलाइन बेटिङ सञ्चालन गरेका थिए। हाल भारतमा भएको आइपिएल खेलमा ३ करोड २२ लाख ९७ हजार कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ।
अञ्जन केसीले भुपेन्द्रसँग मिलि विगत २ वर्षदेखि अनलाइन बेटिङ खेलाउँदै आएका थिए। भारतमा भएको आइपिएल खेलमा र युनियन अफ युरोपियन फुटबल एशोसिएशनमा २ करोड ७७ लाख पाँच हजार कारोबार भएको थियो। विजय श्रेष्ठले विगत १ वर्षदेखि भुपेन्द्रमार्फत खेल खेलाउँदै आएका थिए। त्यस अवधिमा १ करोडको कारोबार भएको थियो।
यस्तै, नरेन्द्र सुवालले १ वर्षदेखि विजयसँग मिलि खेल खेलाउँदै आएको थिए। जसमा ७७ लाख बराबरको कारोबार भएको थियो।
दिनेश बोगटी गौरवको सहयोगी बनि एजेण्टसमक्ष रकम लाने र एजेण्टबाट रकम लिने गर्ने गर्थे।







प्रतिक्रिया दिनुहोस्