प्रायः विदेश भ्रमण गरिरहने विश्व नेतामध्ये पर्छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । अमेरिका, चीन र रुसका राष्ट्रपति, वेलायतका प्रधानमन्त्री एवं जर्मनीका चान्सलरको विश्व भ्रमणलाई त्यति अनौठो मानिँदैन । आफ्नो शक्ति बनाइराख्न यी शक्ति राष्ट्रका प्रमुखहरुले विगतदेखि विश्व भ्रमण गरिरहन्छन् । तर, पछिल्ला चार वर्ष यताको विश्लेषण गर्ने हो भने छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि यही पदचापलाई पछ्याउँदै छन् । मोदीले आफ्नो विदेश नीति ‘मोदी डक्ट्रिन’लाई सफल बनाउन कुनै कसर बाँकी राख्ने गरेका छैन्न् । मोदी डक्ट्रिनले, भारतलाई दक्षिण एशियाको क्षेत्रीय शक्तिको मात्र होइन, विश्व शक्तिकै एक हिस्सा भएको मान्दछ । दक्षिण एशियाका बाँकी देश त सो डक्ट्रिन अनुसार भारतीय सुरक्षा छाताभित्र रहनैपर्छ ।
नरेन्द्र मोदीको मोदीको यसपटकको नेपाल भ्रमण पनि आफ्नो शक्तिलाई बनाइराख्न र नेपाललाई आफैसँग सधैंभर इन्गेज गराइराख्ने डक्ट्रिनको महत्वपूर्ण कडी हो ।
सत्य के हो भने, अहिलेसम्म भारत क्षेत्रीय शक्तिको रुपमा मात्र सीमित छ । तर, अब, विश्वको शक्तिशाली देश बनाउने उद्देश्यसहित दक्षिणपन्थी उग्रराष्ट्रवादी लाईन र चरम हिन्दुत्ववादी सोचका साथ भारतको वर्तमान सरकार क्रियाशील छ । राष्ट्रिय स्वयं सेवक संघ आरएसएसको मार्गनिर्देशन अनुसार नीति बनाउने भारतीय जनता पार्टी बीजेपी सरकार र कुनै समय आरएसएसका कट्टर नेता समेत रहेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि नेपाल महत्वपूर्ण छ । नेपालसँग सम्बन्ध बिग्रिँदा विश्व यात्राको दौरानमा निस्किँदा दैलोमै ठेस लागे सरह हुनेगर्छ मोदी डक्ट्रिनलाई । त्यसैले प्रधानमन्त्री मोदी नेपालसँग सम्बन्ध सुमधुर बनाउन जस्तो सुकै रुप धारण गर्न पनि तयार छन् ।
३६५दिनमध्ये आधा समय विदेश भ्रमणमा खर्चिने मोदीको घरेलु राजनीतिमा आलोचना हुनेगर्छ, विपक्षी नेताहरुबाट । तरपनि उनको यात्रा रोकिएको छैन । सन् २०१४ मा प्रधानमन्त्री निर्वाचित भएपछि मोदीले ‘छिमेक प्रथम’ नीति सार्वजनिक गरे । यो नीतिलाई भारतीय संस्थापन पक्षले ‘मोदी डक्ट्रिन’ का रुपमा समेट्यो । मोदीले, आफ्नो सपथ ग्रहण समारोहमा कमसेकम सार्क राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखलाई हार्दिकतापूर्वक निमन्त्रणा गर्नुको तात्पर्य पनि त्यही नै थियो । तर, भारतको सम्बन्ध पाकिस्तानसँग थप बिग्रदै जानु र बाँकी रहेका अन्य छिमेकीसँगको सम्बन्ध पनि सुमधुर बन्न नसक्दा मोदी डक्ट्रिनले हावा खायो ।
महाशक्ति राष्ट्र अमेरिकासँग नजिकिँदै जाँदा भारतको चीनसँगको सम्बन्ध थप बिग्रियो । श्रीलंकामा नेपालमा जस्तै माइक्रोम्यानेजमेन्ट गर्न खोज्दा श्रींलंकामा भारतविरोधी जनविरोध बढ्न पुग्यो । यसको प्रभाव भारत समर्थित श्रींलंकाको वर्तमान सरकार स्थानीय निकाय निर्वाचनमा पराजयमा देख्न सकिन्छ । पछिल्लो दिनमा भारतको मालदिभ्ससँग समेत सम्बन्ध सुमधुर बन्न सकेन । चीनसँग खुल्ला व्यापार सम्झौता गरेको विरुद्धमा नयाँ दिल्लीले मालदिभ्सको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेपछि दुई देशबीचको सम्बन्धमा दरार आयो । र, यसैको प्रभाव हिन्द महासागरमा चिनिया आणविक पनडुब्बीहरु आइपुग्ने अवस्था सिर्जना भयो । बंगलादेश, म्यानमारसँग समेत भारतको सम्बन्ध तलमाथिको छ । नेपालसँगको सम्बन्ध बारे त त कुरै नगरौं । भर्खरै स्कुल पढ्दै गरेको वच्चाले समेत भारतीय नाकावन्दी विरुद्ध आक्रोश पोक्छ । आपराधिक नाकावन्दीपछि नेपालमा बढेको भारतीय शासकवर्ग विरोधी भावनाका कारण मोदीको छिमेक प्रथम नीतिको मुटुमै प्रहार भएको छ । यस्तो अवस्था निम्तिनुमा भारत स्वयं जिम्मेवार छ । सायद, नरेन्द्र मोदीले आफु प्रधानमन्त्री भएको पूवार्धमा उत्ताउलो छिमेक नीति जारी गर्न खोजेपनि उत्तरार्धमा भने विस्तारै रियलाइजेशन गर्न खोजेका हुन् की भन्ने विश्लेषण गर्न सकिन्छ ।
छिमेकीसँग सम्बन्ध बिग्रिँदै जाँदा आगामी वर्ष हुने लोकसभा निर्वाचनमा त्यसको प्रभाव पर्नसक्छ । त्यसैपनि, मोदी सत्ता विरुद्ध भारतभित्रै आलोचना दिनदिनै बढिरहेको छ । मोदी कुटनीति देशका लागि घातक भएको भन्दै प्रतिपक्षी दलहरुले मोदीको निरन्तर आलोचना बढाइरहेका छन् । यसपटकको नेपाल भ्रमण लिएर पनि नयाँदिल्लीदेखि कर्नाटकासम्म मोदीको विरोध भयो । आफ्नो असफल नीतिलाई पुनर्जीवित गर्ने प्रयत्न भएको भन्दै प्रतिक्षी काँग्रेस आईका नेताहरुले टिप्पणी मोदीको आलोचना गरे ।
विभिन्न राज्यहरुमा भएको विधानसभा निर्वाचन अघि मोदी विदेशमा गएर आफुले मात्र राम्रो काम गरेको दाबी गरेको भन्दै काँग्रेस अध्यक्ष राहुल गान्धीले मोदीलाई आरोपित गरेका थिए । यसपटक कर्नाटका राज्यमा विधानसभा निर्वाचनको मौन अवधीको समयमा भारतको सीमासँग जोडिएको जनकपुरमा मोदीले भाषण गर्दा त्यसको तरंग काठमाडौंमा भन्दा बढी कर्नाटका र दिल्लीसम्म पुग्यो । त्यसैले प्रतिपक्षीहरुको आलोचना झन बढेको छ ।
जनकपुरको मोदी भाषण अर्को वर्ष हुँदै गरेको लोकसभा निर्वाचनमा बिहारका मतदातालाई प्रभावित पार्नका लागि पनि हो भन्ने तर्क गरेका छन् भारतीय प्रतिपक्षीहरुले । तर, मोदीले भने एकतिरबाट दुई निशाना लगाउन खोजेको देखिन्छ । उनी एकातिर आफ्ना प्रतिद्वन्द्वी राहुल गान्धीलाई ठेगान लगाउन खोजेका छन् भने अर्कोतिर नेपालसँग सम्बन्ध पुनस्र्थापित गरेर छिमेकी नीतिको आफ्नो डक्ट्रिन सफल भएको पुष्टि गर्न खोजेका छन् ।
मोदीको यो प्रयत्न आफु सफल भएको देखाउनकै लागि थियो भन्दा फरक पर्दैन । त्यसैले त मोदीले नेपालमा निर्वाचन सम्पन्न भएसँगै आएको राष्ट्रवादी उछालबाट आफु पर हुत्तिने पो हो की भन्ने भयसँगै विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतको रुपमा नेपाल पठाए । यसपटक मोदी आफै नेपाल आए जनकपुर हुंदै काठमाडौंसम्म । मुक्तिनाथसम्म पुगे र तिर्थयात्रीको रुपमा नेपालीको मन जित्न प्रत्यन गरे ।
आफै तयार नभएसम्म नेपालसम्बन्ध सुधार नआउने देखेका मोदीले अहिले नेपाललाई आफुप्रति इन्गेज गराइरहने मौका मात्र प्राप्त गरेका छैनन्, नेपालसँग सम्बन्ध विस्तार गर्न खोज्ने तेस्रो मुलुकलाई समेत नेपालका लागि हामी नै पहिलो भन्ने सन्देश दिन खोजेका छन् ।
मोदी डक्ट्रिनले नेपाल भारतीय सुरक्षा छातामा रहिरहोस भन्ने चाहन्छ । तर, नेपालले पछिल्ला वर्षमा र खासगरी नाकावन्दीपछि उत्तरी छिमेकी चीनप्रति बढी नै सम्बन्ध स्थापित गरेपछि भारतलाई तनाव बढिरहेको छ । दक्षिण एशियामा चीनको प्रभाव बढ्दै जानु र नेपाल चिनिया प्रभावमा पर्न लागेको नयाँं दिल्लीको विश्लेषण पछि मोदीले नेपाल नीतिमा स्वयं पहल गर्नु उनीहरुका लागि आवश्यक थियो । नेपाल चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा संलग्न छ । चीन यसमार्फत दक्षिण एशियाको विशाल बजारमा प्रवेश गर्न चाहन्छ र नेपाललाई रणनीतिक महत्वको गेट वे बनाउन चाहन्छ । बीआरआईमार्फत नेपालले लिने लाभ भन्दा कैयौं गुणा बढी लाभ चीनलाई हुने छ, तर त्यसबाट नेपालको उत्तरसँगको कनेक्टिभिटीका कारण भारतीय परनिर्भरता भने स्वभाविक रुपमा घट्ने छ । यसकारण पनि नेपाललाई फुत्किन नदिने मोदी रणनीति हो । हो, यसकारण, मोदीले नेपाल भारतसँगै रहिरहोस भनेर कुटनीतिक रुपमा नेपाली नेताहरुलाई सन्देश दिएका छन् । उनले काठमाडौंमा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै नेपालले आफ्नो प्राथमिकता आफै निर्धारण गरेमा भारत शेर्पा बन्न तयार भएको सन्देश दिएर आवरणमा सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरेका छन् । अन्तर्यमा, हामीसँग मात्र तिमीले सम्बन्ध गाँस, सबथोक हामी पु¥याउँछौं भन्दै कुटनीतिक सन्देश दिएका छन् ।
मोदीको यो सन्देशले बहुआयामिक अर्थ राख्छ । किनकी, चीनसँग बिग्रिएको सम्बन्ध सुधार्ने अवस्थामा पुगेको भारतले नेपालमा चीनको प्रभाव पुरै निस्तेज होस भन्ने चाहन्छ । यसका लागि के गर्नुपर्छ मोदी तयार छन् । चतुर मोदीले चीनसँग आफ्नो सम्बन्ध सुधार गर्दै नेपाललाई भने भारत निर्भर बनाइरहन प्रयत्न गरेका छन् । उनको इन्गेजमा नेपाल कति पर्छ या आफ्नै स्वतन्त्र विदेश नीतिका आधारमा दुवै छिमेकी मुलुकसँग सम्बन्ध स्थापित गर्छ ? त्यसको जिम्मा भने नेपाली नेताहरुमै रहन्छ ।
प्रतिक्रिया दिनुहोस्