काठमाडौं २० जेष्ठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटलाई लिएर राजनीतिक वृत्तमा विभिन्न कोणबाट बहस सुरु भएको छ।
भेट बुधबार भारतीय प्रधानमन्त्री कार्यालयमा भएको हो। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको बताइए पनि यसको औपचारिक स्तर र राजनीतिक सन्देशबारे प्रश्न उठेका छन्।
मोदीले भेटबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी गराउनु र लामिछानेको भ्रमणका क्रममा उच्चस्तरीय भेटघाटहरूको शृङ्खलाले यसलाई सामान्य भेटभन्दा फरक रूपमा व्याख्या गर्न थालिएको छ।
लामिछाने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले भाजपाका शीर्ष नेता, भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग पनि भेट गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो भेटघाटको श्रृंखलाले नेपालको आन्तरिक राजनीति र क्षेत्रीय कूटनीतिक सन्तुलनबारे विभिन्न प्रश्नहरू उठाएको छ। कतिपयले यसलाई “राजनीतिक सन्देशयुक्त भ्रमण” का रूपमा समेत व्याख्या गर्न थालेका छन्।
यसैबीच, लामिछानेको टोलीमा पत्नी निकिता पौडेलसहित पार्टीका शीर्ष पदाधिकारीहरूको उपस्थिति पनि चर्चाको विषय बनेको छ।
भ्रमणका क्रममा बिहीबार अयोध्या जाने कार्यक्रमले पनि यो यात्रा केवल धार्मिक वा औपचारिक मात्र नभई राजनीतिक रूपमा पनि अर्थपूर्ण भएको विश्लेषण भइरहेको छ।








प्रतिक्रिया दिनुहोस्