काठमाडौं, २५ वैशाख । श्रम संस्कृति पार्टीका नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै किराँतीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको बताएका हुन्।उनले पार्टीहरू धार्मिक संस्थाजस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा चिन्ता व्यक्त गरे। मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र विचौलियाको घेराबन्दीमा नेतृत्व फसेको आरोप लगाए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल (नेकपा माओवादी केन्द्र) त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको बताए। उनले पार्टीभित्र आफ्ना कुरा राख्न दुई मिनेटको समयसमेत नदिइएको आरोप लगाए।
उनले भने, ‘सरकार नाजीवादको घोडामा चढेर हिँडिरहेको छ। तर सम्झिइराखोस्, नाजीवाद र फासीवाद इतिहासको चिहानमा पुरिइसकेको छ। मैले छोड्ने बेलामा दुई मिनेट बोल्छु भन्दा पनि पाइनँ। त्यस्तो स्थितिमा हामी थियौँ ।पार्टी र सत्ता सञ्चालनमा भइरहेको अप्राकृतिक हस्तक्षेप अब स्वीकार्य छैन।’








प्रतिक्रिया दिनुहोस्