काठमाडौं, ९ चैत्र । फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात भएको छ।
बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरेको छ।
तर यथार्थमा ग्यास आयातमा कमी नआएको तथ्यांकले देखाएको छ।
भन्सार विभागको तथ्यांक अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ।
यो पुस र माघको तुलनामा उच्च हो। पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास भित्रिएको थियो।
सामान्यतया जाडो महिनामा ग्यासको माग बढ्ने गरेको थियो। तर पुस र माघमा विगतको तुलनामा आयात कम भएको तथ्यांकले देखाएको छ।
खाडीको जारी तनाव र आयातमा आएको कमीका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।
यही कारण नेपाल आयल निगम ले २८ फागुनदेखि आधा सिलिन्डर मात्रै वितरण गरिरहेको छ।
गत वर्षको फागुनभन्दा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको भन्सार तथ्यांकले देखाएको छ।
समग्रमा हेर्दा चालु आवको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टन बढी हो।
यसले देखाउँछ कि कुल आयात र पछिल्लो महिनाको आयात दुवै गत वर्षभन्दा बढी छ।








प्रतिक्रिया दिनुहोस्