काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मतगणनाअघि राष्ट्रिय संवाद गरेर साझा धारणा बनाउने प्रस्ताव अघि सारेका छन्।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच प्रत्यक्ष बहस सम्भव नभए पनि चुनाव सकिएको भोलिपल्ट, अर्थात् फागुन २२ गते, मतपेटिका खोल्नुअघि राष्ट्रिय बहस गर्न सकिने बताए।
“चुनाव सकिएको भोलिपल्ट मतगणना गर्नुअघि राष्ट्रिय बहस गरौँ। सरकारले चाह्यो र सबै राजनीतिक दलहरू सहमत भए राष्ट्रिय संवादका लागि हामी तयार छौँ,” उनले भने।
शर्माले सुशासन सुनिश्चित गर्न, सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने सहमति गर्न, आलोपालोको प्रचलन अन्त्य गरी पाँच वर्ष टिक्ने स्थिर सरकार गठन गर्न तथा जेनजीसहित समकालीन मुद्दाहरूमा साझा दृष्टिकोण बनाउन राष्ट्रिय संवाद आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार फागुन २२ गते सबै दलहरू एउटै धारणा बनाएर पहिलो संसद् बैठकबाटै त्यसलाई कार्यान्वयन गर्ने गरी अघि बढ्न सकिन्छ।









प्रतिक्रिया दिनुहोस्