सिरहा — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मधेश प्रदेश फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा आएको छ। ३२ निर्वाचन क्षेत्र रहेको मधेशमा १ हजार ५४ जना उम्मेदवार मैदानमा छन्। सबैभन्दा धेरै उम्मेदवार धनुषामा र सबैभन्दा कम सप्तरीमा देखिन्छन्।
तर यो चुनाव संख्याभन्दा पनि चरित्रको लडाइँ बनेको छ—पुराना दलको पकड जोगिन्छ कि नयाँ राजनीतिक शक्तिको उदय हुन्छ?
मधेश : सधैं निर्णायक, सधैं संवेदनशील
देशको सबैभन्दा ठूलो जनसंख्या बोकेको मधेश परम्परागत रूपमा मधेशवादी दलको प्रभाव क्षेत्र मानिँदै आएको छ। तर पछिल्ला चुनावहरूमा कांग्रेस, एमाले र माओवादीजस्ता राष्ट्रिय दलले यहाँ आफ्नो प्रभाव विस्तार गर्न निरन्तर प्रयास गरिरहेका छन्।
यसपालि त झन् पार्टी फेर्ने, पुरानो क्षेत्र छाडेर नयाँ ठाउँ रोज्ने र ठूला नेताहरू प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने क्रमले मधेशको चुनावलाई असाध्यै रोचक बनाएको छ।
को कहाँबाट मैदानमा?
मधेशका धेरै निर्वाचन क्षेत्रमा हेभीवेट भिडन्त देखिन्छ।
- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट मैदानमा छन्।
- जनमत पार्टीका अध्यक्ष सीके राउत यसपटक पनि सप्तरी–२ बाट प्रतिस्पर्धामा छन्।
- जनमतकै सहयोगमा मुख्यमन्त्री बनेका सतिश सिंह भने पार्टी छाडेर स्वाभिमान पार्टीबाट राउतकै विपक्षमा उत्रिएका छन्।
सिरहामा:
- पूर्वमन्त्री राजकिशोर यादव सिरहा–४ फर्किएका छन्।
- युवा तथा खेलकुद मन्त्री भएर चर्चा कमाएका बब्लु गुप्ता रास्वपाबाट सिरहा–१ मा उम्मेदवार छन्।
धनुषामा:
- एमाले उपमहासचिव रघुवीर महासेठ धनुषा–४ मा छन्।
- धनुषा–३ मा कांग्रेसका विमलेन्द्र निधि, एमालेकी जुलीकुमारी महतो र रास्वपाका मनिष झाबीच त्रिकोणात्मक प्रतिस्पर्धा छ।
सर्लाही, रौतहट, बारा र पर्सामा पनि:
- माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, गगन थापा, प्रभु साह, राजेन्द्र महतोजस्ता शीर्ष नेताहरू प्रत्यक्ष चुनावी भिडन्तमा छन्।
असन्तुष्टि छ, तर भरोसा कहाँ?
मधेशमा पुराना दलप्रति व्यापक असन्तुष्टि छ—भ्रष्टाचार, कुशासन, गुटबन्दी र अधुरा वाचाका कारण। तर यही असन्तुष्टिले नयाँ दललाई सहज जित दिलाइदिन्छ भन्ने अवस्था भने छैन।
राजनीतिक विश्लेषकहरूका अनुसार:
- सहरी क्षेत्रमा नयाँ दलप्रति आकर्षण देखिए पनि
- ग्रामीण क्षेत्रमा संगठन, उम्मेदवारको छवि र व्यक्तिगत सम्बन्ध अझै निर्णायक छन्।
पूर्वशिक्षक विष्णुप्रसाद यादव भन्छन्,
“सामाजिक सञ्जालको चर्चा मतमा बदलिन ग्रामीण भेगमा सजिलो हुँदैन। पुराना दलसँग संगठन र अनुभवी उम्मेदवार छन्।”
मतदाताको अलमल
संघीयता, पहिचान, समावेशिता र अधिकारका मुद्दामा संवेदनशील मधेशी मतदाता अहिले अलमलमा छन्।
पुराना दलमाथि आक्रोश छ, तर नयाँ दलप्रति पूर्ण भरोसा पनि बनेको छैन। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी मधेशका मुद्दामा स्पष्ट नदेखिएको आलोचना भइरहेकाे छ।
राजनीतिक विश्लेषक रणधीर चौधरीका शब्दमा,
“असन्तुष्टि त छ, तर विकल्पप्रति निश्चित भरोसा छैन। त्यसैले मधेशको चुनाव अत्यन्तै संवेदनशील र अनिश्चित बनेको छ।”
मधेशको यो चुनाव केवल सिटको हिसाब होइन, राजनीतिक दिशा तय गर्ने संघर्ष हो।
पुराना दल आफ्नै आधार जोगाउन संघर्षरत छन्, नयाँ दल जनआक्रोशलाई मतमा बदल्ने कसरतमा छन्।
अन्ततः फैसला गर्ने भनेका ती मतदाता हुन्—जो असन्तुष्ट पनि छन्, सजग पनि।








प्रतिक्रिया दिनुहोस्