८ माघ – घाना गोल्ड बोर्ड (गोल्डबोर्ड) ले इजिप्टको युरोजेट ग्रुपको सहायक कम्पनी गोल्ड कोस्ट रिफाइनरीसँग सुन प्रशोधन सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौता घानाको मूल्य अभिवृद्धि (भ्यालु एडिसन) लाई गहिरो बनाउने र सुनको मूल्य शृङ्खला (भ्यालु चेन) लाई सुदृढ पार्ने अभियानमा एक महत्वपूर्ण कोशेढुङ्गा सावित भएको छ । घानाको राजधानी आक्रामा आयोजित हस्ताक्षर समारोहमा बोल्दै गोल्डबोर्डका प्रमुख कार्यकारी अधिकृत स्यामुएल ग्याम्फीले यो साझेदारीले कच्चा सुन निर्यातमा घानाको पुरानो निर्भरता र त्यसले देशको वित्तीय अवस्थामा पार्ने प्रभावलाई उल्ट्याउने बताउनुभयो । ग्याम्फीले यो सम्झौताले पत्ता लगाउन सकिने (ट्रेसेबल) सुनको उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र निर्यात आम्दानी बढाउने बताउनु भयो । उहाँले हाल भारत जस्ता अन्य देशहरूमा घानाको सुन प्रशोधन गर्न खर्च भइरहेको विदेशी मुद्रा अब स्वदेशी अर्थतन्त्रमै रहने उल्लेख गर्नुभयो । गोल्ड कोस्ट रिफाइनरीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सेद डेराजले १० वर्षअघि घानामा निर्माण गरिएको यो रिफाइनरी पूर्ण रूपमा सुसज्जित, विश्वस्तरीय र आधुनिक रहेको र यसको वार्षिक १८० मेट्रिक टन सुन प्रशोधन गर्ने क्षमता रहेको बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस्