काठमाडौं, २३ चैत । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले मन्त्रालयका सचिवहरुको सरुवा गरेका छन् । विभिन्न मन्त्रालयका करिब ३० जना सचिवहरुको अदल बदल गरिएको छ । गृह, यूवा तथा खृलकुद, शिक्षा, संचार, अर्थ, रक्षा, भौतिक पूर्वाधार, श्रम तथा रोजगार, कृषि लगायतका मन्त्रालयमा सचिवहरुको सरुवा गरिएको हो ।
पर्यटन मन्त्रालय, कानून मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय लगायतका सचिवहरु यथावत राखिएका छन् । नयाँ फेरबदल अनुसार कुन सचिव कहाँ पुगे त।
प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री कार्यालयमै रहेका अर्का सचिव खगराज बराललाई शिक्षा सचिव बनाइएको छ ।
महेन्द्रमान गुरुङलाई सञ्चार सचिव बनाइएको छ । गुरुङ पनि यसअघि प्रधानमन्त्री कार्यालयमै थिए ।
राष्ट्रिय योजना आयोगका विष्णु लम्साल रक्षा सचिव बनेका छन् भने प्रधानमन्त्री कार्यालयका सचिव शरच्चन्द्र पौडेल योजना आयोगमा पुगेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका सचिव राजन खनाललाई अर्थसचिव बनाइएको छ ।
अख्तियारमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई लगिएको छ ।
त्यसैगरी मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाइएको छ । अधिकारी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा थिए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ ।
वनसचिव डा। युवकध्वज जीसीलाई कृषि मन्त्रालयको सचिव बनाइएको छ भने पशुपंक्षी सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालयमा सरुवा गरिएको छ ।
नेपाल ट्रष्ट कार्यालयमा कार्यरत अर्जुनकुमार कार्कीलाई पुनिर्निर्माण प्राधिकरणको सचिव बनाइएको छ ।
अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने शिक्षा सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकामा सरुवा भएका छन् ।
सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले एकपटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीति अनुरुप सचिवहरुको अदल बदल गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्