काठमाडौं, २ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई विकासवादी–विकास प्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले रेणुलाई आफूहरूले नभई यहाँका जनताहरूले विकास प्रेमी भनेर स्थापित गरेको बताए । प्रचण्डले भने, ‘रेणुको नाम अब विकासवादी रेणु, विकास प्रेमी रेणु भनेर तपाईंहरूले स्थापित गर्नु भएको हो, मैले–हामीले गरेका होइनौं । तपाईंहरूले स्थापित गरेको हो । यसलाई आदर्श मानेर अगाडि जान जरुरी छ ।
’संयोजक प्रचण्डले सामाजिक सञ्जालमा भएको स्टन्टबाजीकै कारण २४ भदौमा राष्ट्र खरानी बनेको टिप्पणी गरे ।उनले भने, ‘सोसल मिडियामा स्टन्ट गरेकै भरमा चाहिँ मानिसहरूको दिमाग चाट्ने एउटा प्रक्रिया तपाईंहरूले देखिराख्नु भएकै छ । अब कहिलेकाहीँ मानिसहरूको दिमाग त्यस्तो स्टन्टबाजी प्रति भ्रमित हुने हो कि भन्ने चिन्ता छ । हाम्रो राष्ट्र झन्डै झन्डै अस्ति २४ भदौमा खरानी जस्तो भयो ।
यहाँ धेरै कुरा आए, तपाईंलाई सबैलाई थाहा छ, म भन्न चाहन्छु, त्यस्तै स्टन्टबाजहरूको कारणले भएको हो । त्यो कुनै विचार, सिद्धान्त, आदर्शका कारणले भएको होइन ।’अहिले पनि सतर्क भएनौ भने, एकताबद्ध भएर सिद्धान्तहीन विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्ने उनले बताए ।तसर्थ त्यस तर्फ सबै जना सतर्क हुन उनले अपिल समेत गरे ।उनले भने, ‘अहिले पनि तपाईं हामी सबै सतर्क भएनौं भने तपाईं हामी सबैले एकताबद्ध भएर सिद्धान्तहीन, विचारहीन आदर्शहीन, निष्ठाहीन, होहल्लाको पछि लाग्यो भने देश दुर्घटनामा पर्न सक्छ । म आफू पनि चितवनकै नागरिक हुनुको नाताले मैले कर्तव्य सम्झेको छु । तपाईंहरू सबैलाई अपिल गर्छु ।’समाजमा देखापरेको अराजकतालाई नियन्त्रण गर्न पनि सबै गम्भीर र जिम्मेवार हुनुपर्ने उनले बताए ।








प्रतिक्रिया दिनुहोस्