काठमाडौं, २२ चैत । प्रहरीले भारतबाट टुरिष्ट बसमा भित्र्याएको ३० लाख रुपैया बराबरको अवैध सामान बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले गोप्य सूचनाको आधारमा बुधबार विहान दिल्लीबाट काठमाडौं आउदै गरेको ना ६ ख ६३०२ नम्बरको टुरिष्ट बसलाई नागढुंगा चेकपोष्टमा शंका लागि नियन्त्रणमा लिई अवैध लत्ताकपडाका सामानहरु बरामद गरिएको हो ।
टुरिष्ट बस र त्यसका चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कार्वाही प्रक्रिया अघि बढाइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । सो गाडीको हुट बडीको तलमाथि, दायाबाया फल्स बटम बनाई कुर्था, सुरुवाल, प्रेसर कुकुर, छालाको पर्स, बेल्ट पोकापोका बनाइ लुकाईछिपाई राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरिएको सामान, सवारी साधन र पक्राउ परेका गाडी चालक बारा निजगढका रामबहादुर थोकरलाई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाउने तयारी गरिएको जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले गाडीका सहचालक दोलखाका गणेश जिरेल, गाडीका धनी रमेश खड्का फरार रहेकाले खोजी कार्य जारी राखिएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्