काठमाडौं, २० चैत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रद्वारा गठित पार्टी एकता संयोजन समितिको बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलका तर्फबाट तयार पारिएको मस्यौदा संयोजन समितिलाई हस्तान्तरण गरिएको छ ।
कार्यदको मस्यौदा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको कार्यदल सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
माधव कुमार नेपाल नेतृत्वको राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र रामबहादुर थापा बादल नेतृत्वको विधान मस्यौदा कार्यदलले झण्डै डेढ महिना लगाएर तयार पारेको मस्यौदा आज बुझाएका हुन् ।
कार्यदलमा जनयुद्ध शब्द, पार्टीको चुनाव चिन्ह र कमिटीहरुको संख्यात्मक सहभागिताबारे विवाद रहेको छ ।
पार्टी एकता संयोजन समिति बैठकले कार्यदलले दिएको सुझावसहित विवाद रहेका बाँकी विषयलाई टुंगो लगाएपछि पार्टी एकताको औपचारिक घोषणा हुनेछन् ।
केही दिन अघि माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टी कमिटीहरुमा फिप्टी फिप्टी सहभागिता हुनुपर्ने अडानलाई सार्वजनिक गरेपछि एमाले नेतृत्व झस्किएको थियो । एमालेले पनि जनयुद्ध, सूर्य चिन्ह र ५०–५० सहभागितामा सहमति हुननसक्ने अडान सार्वजनिक गरेपछि बढेको अन्यौल हटाउने विषयमा समेत संयोजन समिति बैठकमा छलफल हुनेछ ।
एमाले र माओवादीले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर आगामी बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्