काठमाडौं, २० चैत । शुक्रबारदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै हुनुहुन्छ । सम्बोधनमार्फत उहाँले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउनु हुनेछ ।
संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै कार्यक्रम छ ।
प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।
सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसद्मा आउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्