काठमाडौं १ साउन । नेकपा एमाले को च्यासलमा जारी सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयले प्रवेश पाएको छ।
सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषयमा छलफल गर्नुपर्छ भनेको सचिव भट्टराईले बताए।
‘पूर्वराष्ट्रपतिका बारेमा छलफल हुन्छ। अध्यक्षले छलफल गर्नुपर्छ भन्नुभएको छ। उहाँले सार्वजनिक ढंगले बोलिसकेपछि उहाँको व्यक्तिगत निजी विषय मात्रै भएन। यो सार्वजनिक विषय भयो। नेकपा एमालेमा फर्कन्छु भनेर उहाँले सबै सेवा सुविधा त्यागेर आइसकेपछि अब यो पार्टीको मामिला भयो,’ उनले भने।
विद्या भण्डारी फर्किएको र उनको भूमिकाबारे पार्टीको मामिला बनेको भट्टराईले बताए।
‘पार्टीमा हामी छलफल गर्छौं। उहाँ पार्टीमा सक्रिय हुन आउनुहुन्छ भने उहाँलाई उचित जिम्मेवारी पनि दिनुपर्ला। उहाँको सम्मानजनक ठाउँ पनि खोज्नुपर्ला,’ उनले भने।

तर यो विषय पार्टीको उच्च तहमा कुराकानी होस् भन्ने एमाले पंक्तिको चाहना रहेको उनले बताए।
‘त्यो पनि पार्टीको अलिकति उच्च तहमा कुराकानी होस् भन्ने हाम्रो चाहना हो। खासगरी अध्यक्षले उहाँसँग बढी नै संवाद गरेर, के हो कसो होरु प्रष्ट होस् भन्ने हाम्रो चाहना छ। त्यसपछि पनि आवश्यक पर्यो भने पार्टीको सचिवालयमा हामी छलफल गर्छौं, केन्द्रीय कमिटीमा पनि छलफल गर्छौं,’ उनले भने।
सार्वजनिक रूपमा उठिसकेको विषय कार्पेटमुनि राखेर हल नहुने भट्टराईको भनाइ छ।
‘उहाँले त्यति भनिसकेपछि यो सार्वजनिक विषय हो। यसलाई लुकाएर कार्पेटमुनि राखेर त हल हुँदैन। हल गर्नैपर्छ। उहाँको उद्देश्य के छ, चाहना के छरु उहाँ केका लागि आउन खोज्नुभएको छ। त्यो पनि त उहाँले प्रष्ट बनाउनुहोला नि। सार्वजनिक ढंगले उहाँले सबै पनि भन्नुभएको छैन। भन्न पनि मिल्दैन,’ उनले भने।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको प्रणाली बुझेको बताउँदै एमाले स्थापनामा उनको ठूलो भूमिका रहेको भट्टराईले बताए।
‘मलाई लाग्छ, उहाँ पार्टीको प्रणालीबाटै जानुहुन्छ। मलाई लाग्छ, उहाँलाई हामी सम्मानजनक ढंगले सेटल गर्छौं। नेकपा एमालेसँग त्यो क्षमता छ,’ उनले भने।
वरिष्ठ उपाध्यक्ष नराख्ने, पदाधिकारी घटाउने
नेकपा एमालेको सचिवालय बैठकमा पदाधिकारी संख्या घटाउने प्रस्ताव गरिएको छ ।
विधान मस्यौदा समिति तयार पार्ने जिम्मा पाएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पदाधिकारी संख्या घटाउने प्रस्ताव ल्याएका हुन् । प्रस्तावमा वरिष्ठ उपाध्यक्ष राखिएको छैन ।
प्रथम विधान महाधिवेशनबाट एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था ल्याइएको थियो । हाल उक्त पदमा ईश्वर पोखरेल छन् । तर अब वरिष्ठ उपाध्यक्ष पद नराख्ने प्रस्ताव गरिएको छ ।
उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या पनि घटाउने प्रस्ताव गरिएको छ । प्रस्तुत प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछ ।
अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष सहित सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव छन् । पौडेल पौडेलले ल्याएको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले धारणा राखिरहेका छन् ।
साथै, उनले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव पनि अघि सारेका छन् ।
विधान संशोधन प्रस्तावमा केन्द्रीय कमिटीको आकार घटाउने प्रस्ताव छ। वरिष्ठ उपाध्यक्ष नराख्ने, पदाधिकारी ११ मा सीमित गर्ने र केन्द्रीय कमिटीको आकार १९९ सदस्यीय हुने प्रस्तावित छ।







प्रतिक्रिया दिनुहोस्