काठमाडौ २७ असार । एक वर्ष पुग्दा पनि चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् ।
गएको वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् । दुवै बस अहिलेसम्म भेटिएको छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेका थिए भने १६ जना अझै बेपत्ता रहेका छन् ।
बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए । तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी पाँच जना भारतीय नागरिक अझै बेपत्ता छन् ।
त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् ।








प्रतिक्रिया दिनुहोस्