काठमाठौ २७ असार । प्रदेश सरकारले मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार साँझको बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो।
वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मुख्यमन्त्री सिंहले बताए।
बैठकले सुक्खाग्रस्त क्षेत्रका किसानका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ। यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगञ्जसहित मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ।
खानेपानी सङ्कट समाधानमा आवश्यक सहयोग गर्न सङ्घीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमवाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ। रासस







प्रतिक्रिया दिनुहोस्