काठमाडौ २१ असार । युक्रेनको राजधानी किएभमा रुसले प्रहार गरेको ड्रोन र मिसाइलका कारण एक जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
युक्रेनले रुसले शुक्रबार किएभमा ५३९ ड्रोन र ११ मिसाइल प्रहार गरेको बताएको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको टेलिफोन वार्तापछि रुसले युक्रेनमा ड्रोन र मिसाइल प्रहार गरेको छ।
फोनमा कुराकानीपछि ट्रम्पले पुटिन युक्रेन युद्ध अन्त्य गर्न नचाहेकामा आफू निराश भएको बताएका छन्।
साथै रुसले आफ्नो लक्ष्य प्राप्त नभएसम्म युक्रेनविरुद्ध युद्ध जारी रहने बताएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणको निन्दा गरेका छन्।
बीबीसीका अनुसार उनले भनेका छन्, ‘रुसले फेरि एकपटक युद्ध अन्त्य गर्न नचाहेको देखाएको छ।’
जेलेन्स्कीले युक्रेनका सहयोगी, विशेष गरी अमेरिकालाई रुसमा थप प्रतिबन्ध लगाउन अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस्