काठमाडौ १७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।
सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरे।
यो जघन्य अपराध भएको बताउँदै यसले देशलाई फाइदा नहुने उल्लेख गरे। सांसदहरुको महत्वलाई नै छेडखानी गर्ने कुरा राज्यविरुद्धको कसुर भएको शाहीले जिकिर गरे।
‘यो जघन्य अपराध हो, यसको छानबिन होस्,’ शाहीले भने, ‘कानुन बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दछ। यो सांसदहरुको महत्वलाई नै छेडखानी गर्ने कुरा राज्यविरुद्धको कसुर जस्तै हो। समितिका सभापतिले आफूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ। कर्मचारीले यो हर्कत गरेका हुन् भने राज्यविरुद्धको कसुर लगाएर अपराध गर्नेलाई सजाय हुनुपर्छ। राज्यको नियम बनाउने कुरामा यस्तो हुँदैन।’
राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकमा संवैधानिक वा कुटनीतिक नियुक्तिमा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक भन्ने शब्द नराखिएको तर प्रतिनिधि सभामा पुग्दा बाहेक भन्ने शब्द राखेको पाएकाले प्रश्न उठेको छ।








प्रतिक्रिया दिनुहोस्